धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएको एक विरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुर घर भएका ती महिला धरान १८, वीपी प्रतिष्ठान अघिको एक होटल एण्ड लजमा बसेका थिए । उनीहरु विराटनगरमा उपचार हुन नसकेपछि दम्पत्ति नै प्रतिष्ठान आएको प्रारम्भिक जानकारी आएको छ । उनीहरु साउन २१ गतेदेखि नै सो होटलमा बसेका थिए । अप्रेशन गर्नुअघि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र अहिले हिष्ट्री, कन्ट्याक ट्रेसिङलगायत बुझ्ने कार्य भइरहेको १८ नम्बर वडाका अध्यक्ष प्रविण राईले जानकारी दिए ।

‘श्रीमान्, श्रमति २१ गतेदेखि नै होटलमा बस्दै आएका रहेछन्, श्रीमतिको अप्रेशन गर्नुअघि पिसिआर गर्दा आज रिपोर्ट पोजेटिभ आएछ,’अध्यक्ष राईले भने,‘वीपीबाट नै थप बुझ्ने काम भइरहेको छ ।’ संक्रमित बसेको होटलमा विस्तृत विवरण बुझ्न धरानका मेयर तिलक राई, वडा अध्यक्ष राई, इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेत पनि पुगेका छन् । सो होटलमा श्रीमान्, श्रीमति मात्र बसेका थिए । उनीहरुबाहेक होटल सञ्चालकको ७ जनाको परिवार रहेको स्थानीयको भनाई छ ।