धरान: स्थानीय युवालाई कोरोना संक्रमण पुष्टि भएपछि धरान ८ को कविर टोल सिल गरिएको छ ।
टोल विकास संस्थाको नेतृत्वमा संक्रमित क्षेत्रकोरुपमा रहेको कविर टोललाई आज दिउँसो सिल गरिएको हो । कविर टोल–धनकुटे रोड–हिमाली टोल विकास संस्थाका अध्यक्ष नन्दलाल तामाङका अनुसार कन्ट्याक ट्रेसिङ गरिएकाहरुको रिपोर्ट नआएसम्मको लागि कविर टोल सिल गरिएको हो । कोशी राजमार्गदेखि पश्चिम वडा कार्यालय जाने बाटो सिद्धार्थ मार्गको मुखसम्म आवातजावत रोक लगाइएको अध्यक्ष तामाङले बताए ।
उनका अनुसार संक्रमित युवा बोनस मलको क्रञ्च फिटनेस जाने गरेका थिए । त्यहीबाट उनलाई संक्रमण भएको हुनसक्ने स्थानीयको अनुमान छ । ‘यही टोलको अर्काे एक जना महिला पनि त्यही जिम हल जाने गरेको रहेछ, उनको पनि स्वाब परीक्षण गर्न पठाएकोले रिपोर्ट नआएसम्म कविर टोल सिल गरिएको छ,’टोल विकासका अध्यक्ष तामाङले भने ।
संक्रमित युवाको परिवार बोनस मलदेखि ३ घर पश्चिम धनकुटे रोडमा बस्छन् । त्यहाँ उनीहरुको खाद्यान्नको होलसेल पसल छ । उनीहरुको पसल कविर टोलमा पनि छ । ती संक्रमित युवा भने त्यही कविर टोलको पसलमा बस्ने गर्थे । उनलाई केही दिनअघि ज्वरो आएको थियो । मेडिकलमा जचाउन पनि गएका थिए । निको नभएपछि पिसिआर परीक्षण् गरिएको थियो ।
ती युवाको रिपोर्ट पोजेटिभ आइसके पछि पनि आज(बुधबार) बिहान झण्डै ९ बजेसम्म पनि धनकुटे रोडको पसल खोलेर परिवारले बिक्री गरिरहेको पाइएको अध्यक्ष तामाङले बताए । ‘हामी पुगे पछि मात्र पसल बन्द भयो । घरमा नै बस्ने कुरा थियो, तर टोलका सबैले नमानेकोले अस्पताल पठाइएको छ,’उनले भने । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ती संक्रमित युवाको क्लोज कन्ट्याकमा रहेका १० जनाको शुरुमा पिसिआर परीक्षण गर्ने र कसैको पोजेटिभ रिपोर्ट आएमा थप दायरा फराकिलो बनाउने बताए ।