धरान: धरान १० स्थित विजयपुर हस्पिटलमा उपचाररत एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन वार्ड सिल गरिएको छ ।
संक्रमित व्यक्तिलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर वार्डलाई सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रबन्ध निर्देशक प्रभाव खतिवडाका अनुसार कोरोना शंकास्पद विरामीको लागि अलग्गै वार्ड तयारी गरिएको थियो । ‘उहाँ निमोनिया भएर आउनु भएको थियो । यहाँबाट कोरोना हुनसक्ने भनेर वीपीमा पिसिआर टेष्ट गर्न र उतै राख्न सुझाव दियौं, तर बेड नभएर फर्किनु भएको थियो,’खतिवडाले भने,‘उहाँ यतै फर्किए पछि आइसोलेसन वार्डमा राखिएको थियो । त्यो वार्डलाई सिल गरियो ।’
संक्रमित व्यक्तिको उपचारमा संलग्न एक जना फिजिसियन, एक जना मेडिकल अधिकृत, ४ जना नर्स र २ जना सरसफाईकर्मीलाई जानकारी गराएर होम क्वारेन्टिनमा रहन निर्देशन दिइएको पनि खतिवडाले बताए । फ्रन्टलाइनमा उपचार गर्ने उनीहरुको पिसिआर परीक्षण गर्ने र रिपोर्ट आएपछि थप कदम चालिने पनि उनले बताए । ‘फ्रन्टलाइनमा उहाँहरु काम गर्ने भएकोले भोली नै स्वाब परीक्षण गर्ने र रिपोर्टको आधारमा थप कन्ट्याक ट्रसिङ गरिन्छ,’उनले भने । निमोनियाको उपचार गर्न गएका धरान १५ का ६७ बर्षीय व्यक्तिमा पनि संक्रमण देखिएको हो । उनी जग्गा तथा हार्डवेयर व्यापारी हुन् ।