धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका सबै कोरोना संक्रमित व्यक्तिहरुलाई कोभिड १९ अस्पतालमा सारिएको छ ।
लेभल थ्री(३) को सय बेडको कोभिड अस्पताल तयार भएपछि लक्षणयुक्त कोरोना संक्रमितहरुलाई आज (बिहिबार) साँझ सारिएको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन वार्डमा रहेका १६ जनालाई नै कोभिड अस्पतालाई सारिएको छ भने इर्मजेन्सीको इ एरियामा रहेकाहरुलाई पनि सारिएको छ । इर्मजेन्सी, गाइनो र एक जना गोठगाउँ आइसोलेसनबाट पनि आएका छन् भने विजयपुर हस्पिटलबाट पनि संक्रमित व्यक्तिलाई कोभिड अस्पतालमा नै लगिएको छ । ‘कोभिड अस्पतालको विस्तारित सुविधा सम्पन्न भवनमा आइसोलेसनबाट संक्रमितहरुलाई सारिएको छ,’सहायक अस्पताल निर्देशक डा.विकास साहले भने ।
अस्पतालमा ९ वटा भेन्टिलेटर छ । त्यसमध्ये ५ वटा मुख्यमा जडान गरिएको छ भने ३ वटा शंकास्पद एरियामा र एउटा पेडियाट्रिक आइसियुको लागि जडान गरिएको छ । यस्तै, आइसियु बेड १० वटा छ भने २ वटा बच्चा र ३ वटा शंकास्पद बेड रहेको छ । ‘एचडियु कक्षमा १५ वटा बेड छ । भेन्टिलेटर नचाहिने तर अक्सिजन दिनुपर्ने गम्भीर अवस्थाको संक्रमितलाई यहाँ राखिन्छ,’डा.साहले भने,‘एचडियु र आइसियुमा एसि जडान गरिएको छ ।’ यो अस्पतालमा एउटा पोर्टेवल अल्ट्रासाउण्ड पनि जडान भइसकेको छ । स्वास्थ्यकर्मीरु पुल सिस्टमबाट काम गर्नेछन् । सबैको डिउटी रोष्टर तयार भएर सोही अनुसार काम हुने अस्पताल प्रशासनले जनाएको छ ।
गत बैशाखमा उद्घाटन गरिएको यो अस्पताल लामो समय सञ्चालनमा नआउदा चर्को आलोचना भइरहेको थियो । केही दिनदेखि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघले कोभिड अस्पताल सञ्चालनमा नआएकोमा आन्दोलन गरिरहेको छ । बुधबार राती नै यो अस्पतालमा विरामी राख्ने तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।