धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक विरामीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत ती व्यक्तिलाई प्लाज्मा थेरापी गर्न आवश्यक उनको रक्त समुहको एन्टिवडी आवश्यक पर्ने भएकोले नोबेल कोरोना भाइरसबाट संक्रमित भई निको भएका व्यक्तिहरुलाई तत्काल रक्तदान गरिदिन रेडक्रस सोसाइटी सुनसरीले आह्वान गरेको छ । रेडक्रसका सभापति उमेश थापाले सामाजिक सञ्जाल फेसबुकमा एक सुचना पोष्ट गर्दै प्रतिष्ठानमा उपचार गराइरहेका एक व्यक्तिलाई एफएफपि(फ्रेस फ्रोजन प्लाज्मा) आवश्यक परेको उल्लेख गरेका छन् । ‘नोवल कोरोना भाइरसबाट संक्रमित भई हाल स्वास्थ्य हुनु भएका बि पोजेटिभ रगत समुहका स्वस्थ्य व्यक्तिहरुलाई रक्तदान गर्नको लागि हार्दिक अनुरोध गर्दछु,’सुचनामा भनिएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार गम्भीर प्रकृतिका कोरोना विरामी भएको कारण प्लाज्मा थेरापी विधिबाट उपचार गर्न प्रतिष्ठान तयार अवस्थामा छ, तर विरामीको रगत समुह भएको संक्रमण निको भएका व्यक्तिको रगत आवश्यक पर्ने उनले बताए । ‘हामी प्लाज्मा थेपारी गर्न रेडी छौं, तर त्यही ब्लड ग्रुप भएको र कोरोना संक्रमण भएर निको भएको व्यक्तिको रगत चाहिन्छ,’रजिष्ट्रार रेग्मीले भने,‘प्लाज्मा थेरापी वीपीमा हुनसक्यो भने कोसेढुंगा हुनेछ ।’

plajma

नेपालमा पहिलो पटक काठमाण्डौंमा प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको थियो । विराट नर्सिङ होमका सञ्चालक डा.ज्ञानेन्द्रमान कार्कीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको थियो, र उनको स्वास्थ्यमा व्यापाक सुधार भइसकेको छ । त्यसपछि सरकारले वीपी प्रतिष्ठानसहित १२ वटा अस्पतालहरुलाई प्लाज्मा थेरापीको अनुमति दिएको थियो ।

यो विधिबाट उपचार गर्दा कोरोना संक्रमण भएर निको भएको व्यक्तिको रगत आवश्यक पर्छ । तर, रगत भने विरामीको रक्त समुहकै हुनुपर्छ । संक्रमण भएको व्यक्तिले रक्तदान गर्ने हो । संक्रमण भएको व्यक्तिको शरीरमा निश्चित समयपछि भाइरससँग लड्ने क्षमता अर्थात एन्टिबडी उत्पादन गर्न थाल्छ । त्यो एन्टिवडीले भाइरसबाट हुने आक्रमणको प्रतिरोध गर्ने गर्छ । त्यसरी निको भएका व्यक्तिले रक्तदान गरेपछि उसको रगतबाट एन्टिबडी छुट्याएर गम्भीर प्रकृतिको विरामीलाई दिइने गरिन्छ ।

यस्तो छ मापदण्ड

हालसम्म २ दर्जन बढीले प्लाज्मा दान गर्न चाहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । प्लाज्मा दान गर्ने व्यक्तिले रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिएको हुनु हुदैन । साथै दाताको संक्रमण पुष्टि आरटी पिसिआर विधिबाटै भएको हुनुपर्ने हुन्छ भने दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ। प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्छ। साथै संक्रमित अस्पताल भर्ना भई उपचार भएको र अवस्था पनि गम्भीर हुनुपर्छ। संक्रमित बिरामीले आफूलाई उक्त विधिबाट उपचार गर्न भनेमात्र अस्पतालहरूले निजको उपचारमा यो विधि प्रयोग गर्न पाउँछन्।