धरान: साउन २१ गते धरान वडा नं ३ चन्द्रपुर बजारमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण भएको थियो । एकै परिवारका ७ बर्षका नातीदेखि ८५ बर्षका वृद्ध हजुरबुबासम्म संक्रमित भएका थिए ।
उनीहरुलाई संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो । तिनै मध्ये आज कोरोनालाई जितेर ३ जना घर फर्किएका छन् । जसमा ८५ बर्षीय हजुरबुबा, ८० बर्षीय हजुर आमा र ७ बर्षीय नाती रहेका छन् । उनीहरुको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका छन् । बृद्धका छोरा–बुहारीको भने रिपोर्ट पोजेटिभ नै आएकोले आइसोलेसनमा नै राखिएको छ ।
कोरोनालाई जितेर घर फर्किएका वृद्धवृद्धा र नातीलाई सोमबार टोलबासीले स्वागत गरेका छन् । स्थानीय युवाहरु मिलेर गठन गरेको युवा साथीको पहलमा उनीहरुलाई टोलबासीले स्वागत गरेको हो । कोरोनालाई ८५ बर्षको उमेरका ज्येष्ठ नागरिकहरुले पनि जितेर घर फर्किएको कारण मनोवल उच्च बनाउनको लागि स्वागत गरिएको अनिल मास्केले जानकारी दिए । ‘उहाँहरु वृद्धवृद्धा र ७ बर्षको बच्चा हुनुहुन्छ, त्यसैले मनोवल अझै उच्च बनाउनलाई यसरी स्वागत गरिएको हो, उहाँहरुलाई थप हौसला, उत्साह चाहिने भएकोले सबैले साथ दिएका हौं,’मास्केले भने ।
समाजमा कोरोना भएको व्यक्तिलाई अपहेलित तरिकाले हेर्ने गरेको कारण पनि सोच परिवर्तन गराउनलाई युवाहरुले गरेको पहलकदमी स्वागतयोग्य भएको समाजसेवी मास्केको भनाई छ । उनले कोरोना संक्रमण हुदैमा समाजले घृणा वा अपहेलना गर्न नहुने पनि बताए । ‘कोरोना लागेको भनेर नराम्रो सोच्ने गर्छन्, उहाँहरु त कोरोना जितेर आउनु भएको हो, नराम्रो व्यवहार कसैले पनि नगरोस्, अरुलाई पनि नहोस्,’मास्केले भने ।