धरान: धरान १० स्थित विजयपुर हस्पिटालमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरुसहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालका निर्देशक प्रभाव खतिवडाका अनुसार संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट आज नेगेटिभ आएको छ । ‘डाक्टर, नर्स, सहयोगी गरेर १० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो, आज सबैको रिपोर्ट नेगेटिभ आयो,’निर्देशक खतिवडाले भने ।
निमोनिया भएर उपचार गर्न धरान ८ का ६७ बर्षीय एक व्यक्ति विजयपुर हस्पिटाल गएका थिए । उनको उपचारको क्रममा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । शंकास्पद विरामी भएको कारण उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । विरामीको रिपोर्ट पोजेटिभ आएपछि उपचारमा संलग्न एक जना फिजिसिजन, २ जना मेडिकल अफिसर, ५ जना स्टाफ नर्स र २ जना सहयोगीको स्वाब परीक्षण गरिएको थियो भने आइसोलेसन वार्डलाई सिल गरिएको थियो । ‘आइसोलेसन वार्डलाई सिल गरेर सेनिटाइज पनि गरेका थियौं, ७२ घण्टा भन्दा बढी समय पनि भइसक्यो,’निर्देशक खतिवडाले भने,‘रिपोर्ट पनि सबैको नेगेटिभ आएकोले खुशी छौं ।’