धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना भाइरसलाई जितेर आज १८ जना डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानका अनुसार डिस्चार्ज हुनेमा ७ बर्षका बालकदेखि ८७ बर्षका वृद्धसमेत छन् । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेमा १० पुरुष र ८ महिला छन् । ती मध्ये १३ जना सुनसरी जिल्लाका हुन् भने मोरङका ४ जना र झापाका १ जना रहेका छन् । उनीहरु साउन १४ गते र २२ गते भर्ना भएका थिए ।
हालसम्म प्रतिष्ठानबाट कुल ३४८ जना उपचार पश्चात डिस्चार्ज भएर घर फर्किसकेका छन् । प्रतिष्ठानका अनुसार हाल ८१ जना पिसिआर पोजेटिभ व्यक्तिहरु भर्ना भएर उपचाररत रहेका छन् । हालसम्म २५ हजार ४ सय १९ पिसिआर परीक्षण भइसकेको छ ।