धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित व्यक्तिको प्लाज्मा थेरापी उपचारको लागि एक युवाले रक्तदान गरेका छन् ।

मोरङको सुन्दर हरैचा १ घर भएका युवाले आज वीपी प्रतिष्ठानमा आएर रक्तदान गरेका हुन् । बि पोजेटिभ रक्तसमुह भएका ती युवा २५ बर्षीय हुन् । उनलाई गत जेठ तेस्रो साता कोरोना संक्रमण देखिएको थियो । दुई साता गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा रहेको कोभिड अस्पतालमा बसेर उनी निको भएका थिए । सामाजिक सञ्जालमा कोरोना निको भएका बि पोजेटिभ व्यक्तिको खोजी भइरहेको देखेपछि रेडक्रस सोसाइटी सुनसरीमार्फत उनी रक्तदान गर्न सोमबार धरान आएका थिए ।

रेडक्रस सुनसरीका अध्यक्ष उमेश थापाका अनुसार सामाजिक सञ्जालमा बि पोजेटिभ रगत भएको कोरोना निको भएका व्यक्तिको खोजी भएपछि ती युवा सम्पर्कमा आएका थिए । उनले धरान आएर प्लाज्मा डोनेट गरेको थापाले बताए । "उहाँ हाम्रो सम्पर्कमा आउनु भयो, र प्लाज्मा डोनेट गरिसक्नु भएको छ,"थापाले भने । प्लाज्मा थेपारी उपचार गर्न कोरोना संक्रमण भएर निको भएका व्यक्तिको रगत आवश्यक पर्छ । त्यस्ता व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले रगतबाट प्लाज्मा छुट्याएर संक्रमित विरामीलाई चढाउनुपर्ने हुन्छ ।

प्रतिष्ठानस्थित मेडिसिन विभागका प्रमुख एवं प्लाज्मा थेरापीबारे सरकारले गठन गरेको केन्द्रीयस्तरको समिति सदस्य प्रा.डा.सञ्जिव शर्माका अनुसार युवाले रक्तदान गरेपछि उनको रगतबाट प्लाज्मा छुट्याएर निकालिसकेको बताए । ‘रेडक्रसको समन्वयमा डोनर आए, रगत दिनुभयो, प्लाज्मा छुट्याउने प्रोसेस हुदैछ,’डा.शर्माले भने ।

कसैलाई कोभिड संक्रमण भयो भने त्यसविरुद्धमा एन्टिवडी बनेको हुन्छ । उक्त एन्टिबडीको काम भाइरसलाई मार्ने हो । एन्टिबडी बनेर भाइरसलाई मारेपछि विरामी निको भएको हुन्छ । निको भइसकेको मानिसको शरीरमा भएको एन्टिबडीलाई नै अर्को संक्रमित सिकिस्त मान्छेलाई चढाइदिने विधि नै प्लाज्मा थेरापी  उपचार विधि हो । नेपालमा यसअघि राजधानीमा विराट नर्सिङका डा.ज्ञानेन्द्रमान कार्कीलाई यो विधिबाट उपचार गरिएको थियो । शरीरमा एन्टिबडी भएको व्यक्तिले रक्तदान गरेर रगतमा भएको कोषिका, प्लेटलेटलाई छुट्याएर बाँकी रहेको तरल प्लाज्मा संक्रमित व्यक्तिलाई चढाइने गरिन्छ । यो रेडिमेट एन्टिबडी संक्रमितको शरीरमा दिने उपचार विधि हो । तर, दाता र संक्रमित विरामीको रक्तसमुह एउटै हुनुपर्छ ।

कोभिड निको भएकाले रक्तदान गर्नुस्: डा.शर्मा

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख एवं वरिष्ठ बिशेषज्ञ चिकित्सक डा.सञ्जिव शर्माले कोभिड १९ संक्रमण निको भएका व्यक्तिहरुलाई रक्तदान गरिदिन आह्वान गरेका छन् । कोडिभ संक्रमणबाट गम्भीर अवस्थामा पुगेका विरामीहरुलाई प्लाज्मा थेरापी गर्नुपर्दा निको भएका व्यक्तिहरुको प्लाज्मा आवश्यक पर्ने भएकोले रक्तदान गरिराख्न उनले आह्वान गरेका हुन् ।

कोभिड निको भएका व्यक्तिहरुले रक्तदान गरिराखेमा वीपीले प्लाज्मा छुट्याएरु राखिराख्ने र आवश्यक परेको बेलामा संक्रमित विरामीलाई चढाउन सकिने डा.शर्माले बताए । ‘कोभिड भएर पछि निको भइ घर जानु भएका व्यक्तिहरुले रक्तदान गरिदिनुहोस्, हामी प्लाज्मा निकालेर राख्छौं, र आवश्यक पर्दा रगत समुह मिले पछि विरामीलाई चढाउछौं,’डा.शर्माले भने ।

सरकारले वीपी प्रतिष्ठानलाई कोभिडका विरामीहरुको उपचार प्लाज्मा थेरापी विधिबाट पनि गर्ने अनुमति दिएको छ । उक्त अनुमति पछि पहिलो पटक प्लाज्मा थेरापीबाट एक संक्रमित व्यक्तिलाई उपचार गरिन लागेको हो । यो उपचार गर्नको लागि भने विरामी सिकिस्त अवस्थामा भएको हुनुपर्ने मापदण्ड तोकिएको छ भने विरामीको पनि स्वीकृति आवश्यक पर्छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका शाखा अधिकृत किरण कार्कीले कोभिड निको भइसकेका व्यक्तिहरुको खोजी र सम्पर्कको पहल शुरु गरिएको बताए । उनका अनुसार सामाजिक विकास मन्त्रालयमा तथ्यांक मागेर व्यक्तिहरुलाई सम्पर्क गरिनेछ । ‘दाताहरु कहाँ कहाँ छन् भनेर खोजी गर्ने, कन्भिन्स गर्ने काम हुन्छ । हामीले सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर तथ्यांक मागेका छौं । आवश्यक पर्दा ती व्यक्तिहरुसँग कुरा गरेर अरु मानिसहरुलाई सेवा प्रवाह गराउने छौं,’उनले भने ।