धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(सोमबार) राती पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको कोरोना संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
प्रतिष्ठानमा हिजो राती धरानका एक व्यक्तिलाई प्लाज्मा थेरापी उपचार गरिएको थियो । गत जेठ महिनादेखि वीपीमा कोरोना संक्रमितहरुलाई उपचारमा राखिए पछि प्लाज्मा थेपारीबाट पहिलो पटक संक्रमितको उपचार गरिएको हो । यसअघि काठमाण्डौंमा एक संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्दा सुधार आएपछि सरकारले वीपी प्रतिष्ठानसहित अन्य १२ वटा अस्पताललाई पनि यो उपचार गर्ने अनुमति दिएको थियो ।
वीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्माले हिजो राती नै संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारी गरिएको जानकारी दिए । मोरङको सुन्दर हरैचा १ घर भएका २५ बर्षीय युवाले रक्तदानमार्फत प्लाज्मा दान गरेपछि आवश्यक प्रक्रिया पुरा गरेर प्लाज्मा थेपारी उपचार गरिएको उनले बताए । डा.शर्माका अनुसार कोभिड निको भएका व्यक्तिको प्लाज्मामा अर्का संक्रमित व्यक्तिको लागि औषधी सरह हो । निको भएका व्यक्तिको प्लाज्मामा एन्टिबडी हुन्छ, जसले भाइरसलाई मार्ने काम गर्छ ।
प्रतिष्ठानस्थित कोभिड १९ अस्पतालको आइसियुमा राखिएका संक्रमितलाई एनेस्थेसियाका डाक्टर विकास अधिकारी र इन्टरनल मेडिसिन विभागका डाक्टर श्यामबाबु साहको प्रत्यक्ष निगरानीमा प्लाज्मा थेपारी उपचार गरेका थिए । र्यापिड रेस्पोन्स टिम(आरआरटी)को व्यापक छलफल, समन्वय र बिशेष निर्देशन वमोजम आफुहरु राती साढे १० बजे प्लाज्मा थेरापी उपचार शुरु गरेको डा.श्यामबाबुले जानकारी दिए । ‘पहिलो पटक भएकोले आरआरटिमा सरहरुले छलफल गर्नुभएर महत्वपुर्ण निर्णय लिनुभयो, त्यसपछि म र डाक्टर विकास राती साढे १० बजे शुरु गर्यौं,’उनले भने,‘हामीले पौने १२ बजेतिर सबै काम सक्यौं, विरामीमा अहिले धेरै नै राम्रो भएको छ, सुधार भएको छ ।’