धरान: धरानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङको आधारमा उनीहरुको साउन ३० गते स्वाब लिइएको थियो । उक्त दिन जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

संक्रमित दुवै एकै घरका परिवारका हुन् । यसअघि सोही परिवारका एक व्यक्तिमा संक्रमण भएपनि कन्ट्याक ट्रेसिङ गरेर परिवारका अन्य सदस्यहरुको पनि स्वाब लिइएको थियो । आज संक्रमण पुष्टि हुने ती व्यक्तिका श्रीमति र बुबा हुन् । आमा र छोराको रिपोर्ट भने नेगेटिभ आएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । यसअघि संक्रमण भएका व्यक्ति होम आइसोलेसनमा नै रहेको र अब थप २ जना संक्रमण भएपछि के गर्ने भनेर छलफल गरिने अध्यक्ष काफ्लेले बताए ।