धरान: साउन ३१ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ का २२ बर्षीय गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हत्यामा संलग्न ५ जनालाई नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मंगलबार सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा दिनेश महतो, पप्पु राम, शिवकुमार मेहता, दिपक कुमार यादव र प्रदिप राम रहेका छन् । स्थित सुनसरी खोलामा प्लाष्टिक बोराभित्र भेटिएको शवको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत सुनसरीबाट ३ दिन म्याद थप गरि घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । साउन ३१ गते भोक्राहा नरसिंह गाउँपालिका ७ स्थित सुनसरी खोलामा प्लाष्टिकको बोराभित्र ५० केजीको ढुंगासहित बोराको मुख बाँधेर फालेको अवस्थामा मृतकको शव भेटिएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जादा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

कसरी भयो गुणराजको हत्या ?

प्रहरीका अनुसार साउन २९ गते दिउँसो २ बजे मृतक गुणराज घरबाट मोवाइल पसलमा काम छ भनेर साथी शिवकुमार महतोसँग इनरुवा बजार गएका थिए । उनीहरुले राती ७ बजे पारिजात स्कुल छेउमा रक्सी खाएका थिए भने शिवकुमारले मृतक गुणराजलाई इन्द्रजित यादवको घरमा पुर्याएर घरतर्फ गएका थिए । गुणराज इन्द्रजितको घरमा केहीबेर बसेर आफ्नो घर जान भनेर हिडेको भन्ने तथ्य अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले धनबारीमा रगत जस्तो पदार्थ देखेर प्रहरीमा खबर गरेका थिए । त्यसबारेमा प्रहरीले अनुसन्धान थालेको थियो । इन्द्रजित यादवको घरदेखि ३ सय मिटर पर घन्सीबारीमा लुकी बसेका पप्पु राम, दिपक यादव, प्रदिप राम शिवकुमार मेहता र निदेन मेहतालेसमेत संवेदनशिल अंगमा पालैपालो लात्ताले बारम्बार प्रहार गर्दै कुटपिट गरेको तथ्य खुलेको थियो । यस्तै, निदेश मेहताले नजिकै रहेको गोरु गाडामा बाँधिएको नाईलनको डोरी ल्याएर गुणराजको घाँटीमा बाँधेका थिए ।

यस्तै प्रदिप, पप्पु र दिपक मिलेर हात र खुट्टा बाँधेर विभत्स हत्या गरेको खुलेको प्रहरीको भनाई छ । गुणराजको मृत्यु भएपछि निदेशले आफ्नो घरबाट प्लाष्टिकको बोरा ल्याएर मृतकलाई बोराभित्र हालेर सबैले पालैपालो काँधमा बोकेर घन्सी बारी, धानबारी हुदै सुनसरी खोला किनारसम्म पुर्याएका थिए । उनीरुले खोला छेउ कल्भटमा प्रयोग भएको चेप्टो ठुलो ढुंगा बोराभित्र हालेर नाईलनको डोरीले बोराको मुख सिलाएर खोलामा फालेका थिए । प्रहरीले घटनास्थलमा प्लाष्टिकको डोरी, चप्पल, पपु सिंह लेखिएको हातमा लगाउने माला, प्रदिप रामको घाटीमा लगाउने माला चुडिएको अवस्थामा फेला पारेको थियो भने मृतक गुणराजको औठी पनि फेला परेको थियो ।

किन भयो हत्या ?

प्रहरीले गुणराजको हत्या गरिनुको कारण प्रष्ट बताएको छैन । तर उनको हत्यामा संलग्नहरु मृतकसँग हेलमेल भएको र सँगै मदिरा पिउनेहरु नै भएको स्रोतको भनाई छ । हत्या हुनुको मुख्य कारण मृतकको बानी व्यवहोरा भएको बताइएको छ । ‘उनीहरु सँगै रक्सी पिउने साथीहरु नै हुन्, तर गुणराजको स्वभावले गर्दा उनको हत्या भएको देखिन्छ,’स्रोतले भन्यो,‘उसको स्वभावले दिक्क भएर बाउलाई पनि सम्झाइदिनु भनेको रहेछ, तर केही पार नलागेपछि जघन्य अपराध भएको देखिन्छ ।’