धरान: कोरोना संक्रमण बढ्दै गएपछि साउन २२ गतेदेखि धरान उपमहानगरपालिकाले लकडाउन गरेको छ । लकडाउन भएपनि मानिसहरुको आवतजावत रोकिएको छैन ।

अन्तरजिल्लाको मात्र होइन, हिजो(बुधबार) ३ जना भारतीय नागरिकहरु धरान आएको खुलेपछि अहिले सम्बन्धित वडाका जनप्रतिनिधिहरु खोजी गर्न दौडधुपमा छन् । ती भारतीय नागरिकको परिवार धरान १२ स्थित चतरालाइनमा भाडामा बस्दै आएका थिए । उनीहरु साउन पहिलो साता लकडाउन खुलेपछि छोराको विवाह गर्न भन्दै भारत गएका थिए । उनीहरु विहारका बासिन्दा भएको वडा नं १२ का अध्यक्ष टंका राईले जानकारी दिए । ‘लकडाउन अघि भारत गएको थियो, हिजो साढे ४ बजेतिर धरान आएछ,’अध्यक्ष राईले भने,‘धरान प्रवेश गर्ने नाका लुज भयो ।’

धरान आएका उनीहरु हिजो बुधबार भने धरान १६ नौलो बस्तीमा रहेको आफन्तको घरमा बसेको पनि वडा १२ का अध्यक्ष राईले जानकारी दिए । ती मध्ये एक जना चतरालाइनमा आज बिहान आएका थिए । तर, भाडामा बस्ने अन्यले उनलाई बस्न दिएनन् । ‘मलाई खबर गरे, मैले क्वारेन्टिनमा पठाउने भन्दाभन्दै गइहालेछ,’उनले भने,‘मैले वडा १६ को अध्यक्षलाई पनि जानकारी गराएको छुँ ।’

ती भारतीय नागरिकहरु धरानमा कस्मेटिक सामानहरु साइकलमा डुलाएर बिक्री गर्ने गरेकाा छन् । वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले भारतीयहरु आएर बसेको जानकारी पाएपछि खोजी भइरहेको बताए । उनले तल्लो बस्ती पुरै खोजी गरेपनि नभेटेको र अहिले नौलो बस्तीमा खोजी शुरु गरिएको बताए । ‘तल्लो बस्ती पुरै खोजि गरियो, नौलो बस्तीमा खोजी गर्दैछौं,’उनले भने ।