विराटनगर: प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु भएको छ ।

कोरोनाको लक्षणसहितका संक्रमितको उपचार गर्ने गरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको हो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री जीवन घिमिरेले कोरोनाको लक्षण देखिएकालाई अस्पतालमा र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको बताए । ‘लक्षण भएकालाई विराटनगर ल्याईने छ,’उनले भने । क्वारेन्टाईन र आईसोलेसनलाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने मन्त्री घिमिरेले बताए ।

कोशी कोभिड उपचार केन्द्रमा १० वटा आईसीयु वेड, २ वटा फिक्स्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए । आईसीयुमा हाल ३ जना व्यक्तिहरुको उपचार भइरहेको पनि उनले बताए । आईसीयु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको उनले बताए । थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतबारबाट सञ्चालन गर्ने तयारी गरिएको पनि मन्त्रालयले जनाएको छ ।

photo-11

गत चैत २१ गते देखि सञ्चालनमा ल्याईएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना शुरु गरिएको थियो । उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरि २ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमित एक जनाको मृत्यु भएको छ । उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरि ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताए ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ । अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।