धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमित भयो भन्दैमा समाज तथा छरछिमेकबाट तिरस्कार नगर्न नगरबासीहरुलाई आग्रह गरेका छन् ।
बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिले २६ औं बार्षिकोत्सवमा स्वास्थ्य सामग्री वितरण गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा मेयर राईले यस्तो आग्रह गरेका हुन् । उनले कोभिड रोग भएकोले अत्तालिन जरुरी नभएको पनि बताए । ‘कोभिडबाट अत्तालिन जरुरी छैन, यो रोग हो । यसमा समस्या छ, यसले मृत्यु समेत हामीले व्यहोर्नुपरिरहेको छ । तरपनि हामी आफैले जान्ने हो भने, सचेत हुने हो भने डराउनुपर्ने स्थिति छैन,’मेयर राईले भने,‘हामी अलिकति मानवीयता, जिम्मेवारी र कर्तव्य भुलेर विगतको समयमा, अशिक्षित समजमा कुष्ठरोगीलाई छिःछि, दुरदुर गरेजस्तो त्यस्तो भान भइरहेको छ । हाम्रो समाज त्यस्तो होइन, अझ धरान त त्यस्तो हुदै होइन ।’
मेयर राईले धरानमा सबै जाजतजाति, वर्ग, समुदाय, हुँदा खाने, हुनेखाने, गरिब–धनी हातेमालो गरेर बसेको सहर भएकोले कोरोना पोजेटिभलाई त्यसरी अपहेलित गर्न नहुने बताए । बाहिरको व्यक्ति पनि सहजरुपमा आएर धरानमा आफ्नो उपस्थिति, आफ्नो पहिचान आत्मविश्वासको साथ राख्नसक्ने ठाउँ भएको उनको भनाई थियो । ‘तर, अहिले कोरोना पोजेटिभ देखिनुबित्तिकै व्यक्ति मात्र होइन, घरका अन्य परिवारलाई एक किसिमको नजादिनो ढंगले असहज परिस्थिति बनेको देखिरहेको छ । म आग्रह गर्न चाहन्छु, टोलका साथीहरुले पनि बुझेर होइन, नबुझेर चेतना र ज्ञानको कमी भएको पनि हुनसक्छ । हामी स्वास्र्थी भएको पनि हुनसक्छ,’मेयर राईले भने,‘समाज कस्तो छ भने एम्बुलेन्स यो बाटो हिडिदियो भने तर्सिने खालको । त्यस्तो होइन, यसलाई हामीले अपव्याख्या गर्नुहुदैन । वास्तवमा कोभिड विरामी पनि मृत्यु भयो भने उसलाई पनि प्रोटोकल, कार्यविधि अनुसार दाहसंस्कार गछौं ।’
धरान १५ मा मृत्यु भएकी ७१ बर्षीय वृद्धालाई सबैले मिलेर दाहसंस्कार गरेको उदाहरण दिदै उनले छिःछि र दुरदुर गर्ने हो भने एम्बुलेन्स चालक, शववाहनले विरामी, मृत्यु भएको व्यक्तिलाई बोक्न नमाने अवस्था झन् भयावह बन्ने पनि बताए । ‘अस्पतालले कार्यविधि अनुसार शवलाई प्याक गरेर संक्रमणरहित ढंगले सेनिटाइज गरेर पठाएको हुन्छ । हामी घरमा भएकाले छिछि दुरदुर गर्यौं भने भोली को एम्बुलेन्स चालकले संक्रमितलाई बोक्छ ? को शव वाहन चालकले शव बोक्छ ? कुन प्रहरी, प्रशासन, सेनाले व्यवस्थपन गर्छ ?’मेयर राईले भने,‘त्यसैले हामी जिम्मेवार नागरिक भएकोले त्यो स्थितिमा रहनु हदैन । भोली हाम्रै परिवारमा, हामी आफैलाई पर्न सक्छ । त्यसैले सहकार्य गरेर, हातेमालो गरेर सहयोग गर्नुपर्छ ।’
मेयर राईले छिमेकीलाई रोग लाग्यो भने निश्चित दुरीमा टाढै रहेर कुराकानी गर्न र हालचाल बुझ्न पनि आग्रह गरे । तर, छरछिमेकबाट नै तिरस्कार भइरहेको प्रति उनले असन्तुष्टी पनि जनाए । आफुलाई कोरोना लागेपनि डाक्टर, नर्सहरु निरन्तर उपचार सेवामा खटिरहेको भन्दै उनले कोरोना पोजेटिभ भएर अस्पतालमा रहेकी धरान १६ की एक नर्सले आफ्नो परिवारलाई गरेको व्यवहारप्रति चित्त दुखाउदै फेसबुकमा पोष्ट गरेको कुराले आफ्नो पनि चित्त दुःखेको बताए । ‘हाम्रो समाज कहाँ पुगिरहेको छ ? यो जुन किसिमको अबुझपना, अविश्वास भइरहेको छ, अब यो हट्नुपर्छ,’उनले भने,‘यो कोभिडलाई अब सामान्यीकरण गर्नुपर्छ । खोजेर पक्रेर कारबाही गर्न पनि सकिदैन । आफैले जित्नुपर्नेछ । तर एक्लैले केही गर्न सकिदैन, सबैले सहकार्य गर्यौं, आप आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने डराउनुपर्दैन ।’
जनप्रतिनिधिलाई खबरदारी गर्नुस्, तर काममा हस्तक्षेप नगर्नुस्
मेयर राईले नगरपालिका सबैको साझा संस्था भएको धारणा राख्दै जनप्रतिनिधिहरुलाई काम गर्न दिन पनि गरेका छन् । उनले नगरपालिकाको काममा तलमाथि भएमा सबैलाई प्रश्न गर्ने ठाउँ रहने बताउदै जनप्रतिनिधिहरुलाई काम गर्ने वातावरण पनि सबैले बनाउनुपर्ने धारणा राखे । मेयर राईले खबरदारी गर्ने अधिकार सबैलाई भएको भनाई राख्दै जुलुसै गरेर खबरदारी गर्न पनि आग्रह गरे, तर काम गर्ने कुरामा भने हस्तक्षेप नगर्न पनि आग्रह गरे ।
उनले यस्तो धारणा को प्रति लक्षित गरेर व्यक्त गरेका हुन् भन्ने प्रष्ट पारेनन् । ‘हो, खबरदारी गर्ने अधिकार सबैलाई छ, लेखेर हुन्छ कि विज्ञप्तीमार्फत हुन्छ कि सक्नुहुन्छ भने जुलुसै गरेर खबरदाबी गर्नुस्, तर काम गर्ने कुरामा हस्तक्षेप नगर्नुस्, काम गर्न रोक्नु भएन,’मेयर राईले भने,‘काम गर्न गएका छौं, काम गर्न पाउनुपर्यो । गलत काम भयो भने त्यसको हर्जना तिर्न, जवाफदेही बन्न, कारबाही भोग्न हामी तयार छौं ।’
मेयर र उपमेयर(मञ्जु भण्डारी) भविष्यमा पदमा नभए पनि धरानमा नै रहने भन्दै उनले आफ्नो कार्यकालको जवाफदेही बाँचुञ्जेल रहने पनि बताए । ‘हामी यही जन्मियौं, भोली मेयर, उपमेयर नभए पनि हामी यही रहन्छौं, त्यतिबेलासम्म हाम्रो कार्यकालको जवाफदेही रहन्छौं,’मेयर राईले भने,‘त्यसैले नगरमा आएका जनप्रतिनिधिले काम गर्न पाउनुपर्छ, काम गर्ने वातावरण सबैले बनाउनुपर्छ ।’
निजी क्षेत्रले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ
मेयर राईले व्यापारीहरुले नाफा कमाउनु स्वभाविक भएपनि नाफा कमाए पछि सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने बताए । तर, धरानमा व्यापार गरेर कमाउने व्यापारिक संस्था, बैंकहरुले धरानको लागि भने सामाजिक उत्तरदायित्व पुरा नगरेको प्रति उनले असन्तुष्टी जनाए । ‘धरानको बैंकहरु, खानेपानी संस्थानले पनि नाफा कमाइरहेको छ, तर धरानको लागि के गरिरहेको छ ?’मेयर राईले भने ।
उनले खानेपानी संस्थानले धरानमा मुहान सित्तैमा पाइरोखको भएपनि उपभोक्ताले धारा जडान गर्नुपर्दा चर्को मुल्य तिर्नुपरिरहेको बताए । ‘संस्थानले मुहान सित्तैमा पाएको छ तर, उपभोक्ताले धारा जोड्नुपर्यो भने ५,६ लाख, १० लाखसम्म पाइप जोड्नुपर्छ,’उनले भने,‘त्यही पानी उसले दिइरहेको छ, न मुहान, स्रोत बढाएको छ, संस्थाने त्यो गर्नुपर्दैन ? खानेपानी संस्थानले पानी खुवाएको भए ऋण लिएर अर्को आयोजना ल्याउनुपथ्र्यो ?’