धरान: धरान उपमहानगरपालिकामा कोरोना संक्रमितहरुको संख्या एक सय नाघेको छ ।

आज संक्रमण पुष्टि भएकाहरुको संख्यासहित धरानमा कुल संक्रमित संख्या १०१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ४० जना विदेशबाट आएकाहरुमा संक्रमण देखिएको हो भने ६० जना समुदायका मानिसहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका व्यक्तिहरुको नजिक सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने र स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने काम भइरहेको पनि उनले बताए ।

सुनसरी जिल्लामा भने संक्रमितहरुको संख्या ४ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज पिसिआर पोजेटिभ आएको संख्यासहित कुल ४२७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेपका अनुसार कुल संक्रमितमध्ये १९० जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १५ की ७१ बर्षीय एक वृद्धा थिइन् ।