धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थप एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको हो । उनको घर धरान ११ स्थित सयपत्री चोकमा रहेको छ । उनी भने हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिनमा रहेकी छिन् । यसअघि संक्रमण पुष्टि भएको नर्सहरुको कन्ट्याक ट्रेसिङको क्रममा उनको पनि स्वाब लिएर परीक्षण गरिएको थियो ।
यस्तै, प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनलाई कोभिडको आशंका गरेर नै अस्पतालमा भर्ना गरिएको उनले बताए । यसबाहेक गाइनो वार्डमा हिजो संक्रमण पुष्टि भएका एक महिलाको कुरुवामा पनि संक्रमण पुष्टि भएको डा.सापकोटाले बताए । कन्ट्याक ट्रेसिङबाट उनको स्वाब लिएर परीक्षण गरिएको थियो । प्रवक्ता सापकोटाका अनुसार हेल्प डेस्कमा आफै आएर स्वाब दिएका अन्य ३ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ, तर उनीहरु कहाँका हुन् भनेर प्रष्ट भइनसकेको उनले बताए ।
विजयपुर हस्पिटलका रेडियोग्राफरमा संक्रमण
धरान १० स्थित विययपुर हस्पिटलमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हस्पिटलको ५४ बर्षीय रेडियोग्राफरमा संक्रमण देखिएको हो । उनी धरान १७ स्थित आदर्श मार्गमा डेरामा बस्छन् । उनले यसअघि विजयपुर हस्पिटलमा संक्रमण पुष्टि भएका विरामीको एक्स रे गरेको पाइएको मेहताले बताए ।
अस्पतालका निर्देशक प्रभाव खतिवडाले संक्रमित रेडियोग्राफरलाई आइसोलेसनमा राखिएको जनकारी दिए । उनी ५ दिनदेखि आइसोलेसनमा पठाएको र ज्वरो आएपछि वीपीमा जाँच गराउदा रिपोर्ट पोजेटिभ आएको निर्देशक खतिवडाले बताए । क्रमैसँग सबै स्टाफहरुको परीक्षण गरिरहेको उनले बताए । उनका अनुसार हरेक दिन बेलुका ४ बजे ओपिडी सकिएपछि सबै विभाग, मेशिनहरुमा सेनिटाइज गर्ने गरिएको पनि बताए । ‘प्रत्येक विरामी कोरोनाको आउनसक्छ भनेर सचेत छौं, हरेक दिन बेलुका ओपिडी सकिएपछि सेनिटाइज गर्ने गरेका छौं,’उनले भने ।
अख्तियार कर्मचारीमा पनि संक्रमण
वर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत धरानका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनी वर्दिवासस्थित अख्तियारमा कार्यरत भएपनि घर धरानको वडा नं १७ मा पर्ने रत्नचोकमा रहेको छ । उनी हाल धरानस्थित घरमा नै छन् । करिब १० दिनदेखि ज्वारो आएपछि उनले वर्दिवासमा नै स्वाब दिएका थिए भने धरान आएर पनि स्वाब परीक्षण गराएका थिए । उनी होम आइसोलेसनमा नै बस्ने जानकारी गराएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।