मोरङ: भारतमा बसेर नेपालको विभिन्न जिल्लाहरुमा सञ्जाल विस्तार गरेर अपराधिक कार्य गर्ने गिरोहको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारतको अररिया जिल्ला इन्द्रनगर ग्रामपञ्चायक १० का ३९ बर्षीय बग्गा भनिने प्रदिप यादवलाई विराटनगरबाट पक्राउ गरेको हो । यादव प्रहरी सुचीमा सवार्धिक खोजी भएका मोष्ट वाण्टेड अपराधी हुन् । यादव हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका फरार प्रतिवादीको सूचीमा रहेका थिए । उनलाई हिजो शनिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका वडा नं १६ बाट लागुऔषधसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । यादवको साथबाट डाइलेक्स डि.सी.१५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की पनि बरामद भएको प्रहरीको भनाई छ ।
२०७५ मंसिर ३ गते बिराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोलसहित मन्दिप तामाङ र सुशिल कुमार साह पक्राउ परेका थिए । उनीहरुलाई हतियार पठाउने व्यक्ति यादव थिए । यस्तै, २०७५ मंसिर ८ गते लागुऔषध ब्राउनसुगर र पेस्तोलसहित बिध्यानन्द मण्डल र अनुप गिरी पक्राउ परेका थिए । उनीहरुलाई ललितपुरका रुपम राईलाई लागुऔषध र हतियार दिन भनी पठाउने व्यक्ति पनि यादव नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यी घटनाहरुको मुख्य नाइके भारतका यादव रहेको खुले पछि प्रहरीले सर्वाधिक खोजीको सूचीमा उनलाई राखेको थियो । अन्ततः यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो । पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।