बिराटनगर: १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले आफ्नो मातहतका प्रहरी कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्ने उद्देश्यले यस्तो सम्झौता गरिएको हो । साथै, यो सम्झौताले कार्यालय प्रमुखहरुलाई अझ जिम्मेवार र उत्तरदायित्व बनाउने पनि अपेक्षा गरिएको प्रदेश प्रहरीको भनाई छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेपछि प्रदेश प्रहरी प्रमुख कार्कीले पनि आफ्ना मातहतका प्रहरी कार्यालय प्रमुखहरुसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रदेश मातहतका प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गण रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, १४ वटै जिल्ला प्रहरी कार्यालय, प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका कार्यालय प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

samjhauta

डिआइजी कार्कीले नेपाल प्रहरी कार्ययोजना २०७७ को उद्देश्य र लक्ष्यबारे जानकारी दिदै आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्ने र प्रहरी संगठनलाई पद्दतीगतरुपमा अघि लैजान पनि कार्ययोजना सहयोगी हुने बताए । नेपाल प्रहरी सधै नै आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको उल्लेख गर्दै डिआइजी कार्कीले प्रहरी सेवा योजनाबद्ध् र परिणाममुखी हुनुपर्ने अवधारणा अनुरुप कार्ययोजना तय गरिएको पनि बताए ।

नेपाल प्रहरी नागरिक केन्द्रित भएर परिणाममुखी कार्य सम्पादनमा सबै दृढ संकल्प भई लाग्नुपर्ने पनि उनको भनाई थियो । हाल विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ लाई नेपाल प्रहरीले चुनौतीकोरुपमा सामना गरिरहेको भन्दै उनले संक्रमित प्रहरी कर्मचारीहरुको व्यवस्थापन गर्न र आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई निर्देशन पनि दिएका थिए ।