धरान: कोरोना संक्रमण बढ्दै गएपछि धरान उपमहानगरपालिकाले लकडाउन गरेपनि लुकीछिपी धरानको वडा नं २०, विष्णुपादुका क्षेत्रतिर घुमफिर गर्न जानेहरु बढ्न थालेका छन् ।

घुमफिर गर्नेहरुबाट वडामा संक्रमण फैलिनसक्ने जोखिम बढेपछि अनावश्यक मानिसहरुलाई प्रवेश गर्न नदिन वडाबासीहरु जागरुक भएका छन् । आज धरानका मेयर तिलक राईको बिशेष उपस्थितिमा भएको वडाबासीहरुको भेलाले बजार क्षेत्रबाट मानिसहरु आउन नदिनलाई स्वयमसेवक युवाहरु परिचालन गर्ने निर्णय गरेको छ । यसको लागि प्रहरी प्रशासनसँग पनि आवश्यक समन्वय गरिनेछ ।

वडा अध्यक्ष मणिराम राईका अनुसार बजारमा कलडाउन कडाई हुदा मानिसहरुको चहलपहल व्यापकरुपमा विष्णुपादुका क्षेत्रमा बढेको छ । यसले वडा २० पनि संक्रमणको उच्च जोखिममा पुगेको महशुस गरेर युवा स्वयमसेवकहरु परिचालन गर्ने निर्णय गर्नुपरेको उनले बताए । ‘लकडाउन लम्बिदै जादा बजार क्षेत्रका मानिसहरुको समय व्यतित गर्ने ठाउँ वडा २० बन्यो, यसले संक्रमणको जोखिम पनि बढाएको छ,’वडाअध्यक्ष राईले भने,‘हामीले स्वयमसेवक टोली बनाएका छौं, प्रहरीसँग समन्वय गछौं, र टोल टोलमा राख्छौं ।’

अध्यक्ष राईका अनुसार स्वयमसेवक टोलीले चिण्डे डाँडा, गोर्खा पार्क, वीपी पार्क, भञ्ज्याङ, कोकाह खोलातिर आउनेहरुलाई हिडडुल गर्न रोक लगाउछन् । अनावश्यक हिडडुल गर्नेहरुलाई प्रवेश गर्न दिइनेछैन । मेयर तिलक राई पनि विष्णुपादुका(वडा २०) ठुलो भुगोल भएको तर सिमित प्रहरी जनशक्ति भएको कारण सबैतिर भ्याउन सम्भव छैन । त्यसैले स्थानीय युवाहरुको स्वयमसेवक टोली बनेर प्रहरीसँग समन्वय गरेर खटिने उनले बताए । ‘प्रहरी चौकी छ, तर प्रहरी जनशक्ति थोरै संखयामा भएकोले सबैतिर भ्याउन सम्भव रहेनछ,’मेयर राईले भने,‘युवाहरुको स्वयमसेवक टोली बनेको छ, भोलीदेखि अनावश्यकरुपमा आउने मानिसहरुलाई रोक्न भुमिका खेल्नेछ ।’