धरान: अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी समातिएका छन् ।
जिल्ला अदालत सुनसरीबाट कैद सजायको फैसलासमेत भइसकेका भोक्राहा नरसिंह ७ का ३७ बर्षीय बुदर भन्ने विदुर यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई कोशी गाउँपालिका ७ बाट पक्राउ गरेको थियो । प्रहरीले यादवलाई जिल्ला अदालतमा पेश गरेपछि कैद भुक्तानको लागि झुम्कास्थित कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
२०६५ चैत २० गते राती करिब पौने १२ बजे इनरुवा ३ का ५८ बर्षीय खिलानाथ ढकाललाई अपहरण विदुरसहितका मानिसहरुले अपहरण गरि मोटरसाइकलमा लगेर बन्धक बनाएको उजुरी ढकालका छोराले दिएका थिए । प्रहरीले उक्त मुद्दाको अनुसन्धान पश्चात अदालतमा पेश गरेको थियो । अदालतले २०७० असोज ६ गते फरार प्रतिवादीहरुको हकमा ११ वर्ष कैद र जनही १ लाख रुपैया जरिवानाको फैसला गरेको थियो ।