विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीहरुसँग आज छलफल गरेका छन् ।

प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल र रजिष्टार डा.मोहनचन्द्र रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर जनगुनासोबारे छलफल गरेका हुन् । मुख्यमन्त्री राईले तिनै जना पदाधिकारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा(छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिए ।

bp-cm

तत्काल पिसिआर परीक्षणको दायरा बढाउन निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न मुख्यमन्त्री राईले प्रतिष्ठानका पदाधिकारीहरुलाई दिर्नेशन दिएका छन् । उनले पाँच सय क्षमताको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन पदाधिकारीहरुलाई निर्देशन पनि दिएका छन् । मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए । छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।