सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीले देवानगंज गाउँपालिका २ बाट ठुलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी निक्षकको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरी टोलीले हिजो सोमबार देवानगंज २ का कप्तानजंग सडकखण्डमा २१ बर्षीय शिवशंकर यादवलाई पक्राउ गरेको हो । उनको साथबाट ९९ बोतल डाइलक्स डिसि(१०० एमएल) वरामद भएको एसपी कमल थापाले जानकारी दिए । उनलाई ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको पनि एसपी थापाले बताए ।

यस्तै, सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित घुस्की बसन्तपुर सडक खण्डबाट प्रहरीले लागुऔषधसहित ३ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर ५ का २१ बर्षीय मकरम अन्सारी, हरिनगर ६ का साहुदिन जन र भारतको अररिया जिल्ला पथराह २ का मो.अंजुर रहेका छन् । ना १८ प ४०८४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुको साथबाट २० बोतल डाइलेक्स डिसि वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई चेकजाँच गर्ने क्रममा लगाएको सर्टमा लुकाएको अवस्थामा लागुऔषध वरामद भएको थियो । उनीहरुलाई लागुऔषध मुद्दामा ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।