धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक स्वास्थ्यकर्मीको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको इर्मजेन्सीमा कार्यरत हेल्थ एडकी २८ बर्षीया छोरीलाई संक्रमण पुष्टि भएको हो । ती हेल्थ एडलाई पनि सोमबार राती संक्रमण पुष्टि भएको थियो ।आमा संक्रमित भएपछि कन्ट्याक ट्रेसिंगबाट छोरीको पनि स्वाब परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिइन् । दुवै आमा छोरी क्वार्टरमा नै होम आइसोलेसनमा छन् ।

यस्तै, सप्तरीकी २५ बर्षीय एक महिलालाई पनि संक्रमण पुष्टि भएको छ । वीपीमा उपचारको लागि आएको उनको श्रीमान् यसअघि नै कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा राखिएको छ । श्रीमान् संक्रमित भएपछि श्रीमतिलाई पनि धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनमा राखिएको थियो । साथै, उनको स्वाब संकलन गरेर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा.सापकोटाले जानकारी दिए ।

मोरङको सुन्दर हरैचाका ३९ बर्षका पुरुष पनि संक्रमण देखिएको छ । मेडिसिन वार्डमा ३ जना पोजेटिभ देखिए पछि कन्ट्याक ट्रेसिङको क्रममा उनको पनि स्वाब संकलन गरेर परिक्षण गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी पनि आइसोलेसनमा राखिएको छ । यस्तै, शंकास्पद विरामी भएर कोभिड अस्पतालको आइसोलेसनमा राखिएका मोरङकी ६५ बर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।