धरान: कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको छ ।
आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय भएको १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । ‘लकडाउन एक साता थप गर्ने निर्णय भएको छ,’उनले भने ।
यस्तै, खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने पनि निर्णय भएको छ । यसअघि बिहान ८ बजेसम्म मात्र खाद्यान्न, तरकारी तथा दुधको पसल खोल्न दिइएको थियो । ‘२ घण्टा थप गरेर १० बजेसम्म दिने निर्णय भएको छ,’अध्यक्ष काफ्लेले भने । धरानमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि साउन २२ गतेदेखि लकडाउन जारी छ ।