धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सिङ स्टाफहरुको समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ ।

आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग आज बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएपछि समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार समस्या समाधान गर्न अस्पताल निर्देशक डा.गौरीशंकर साह संयोजक रहेको एक समिति गठन गरिएको छ । समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेका छन् भने नर्सिङ स्टाफहरुकोतर्फबाट २ जना प्रतिनिधि रहनेछन् । ‘समस्या समाधान गर्न एक समिति गठन भएको छ, समितिले एक साताभित्र समाधानसहितको रिपोर्ट बुझाउनेछ,’प्रवक्ता डा.सापकोटाले भने ।

vc-nurse5

उक्त समितिमा नर्सिङ स्टाफहरुकोतर्फबाट सफला बुढाथोकी र रमा बस्नेत प्रतिनिधिकोरुपमा रहने भएका छन् । नर्सिङ स्टाफहरु बिहान उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई ज्ञापन पत्र बुझाउन गएका थिए । ज्ञापन पत्र बुझाउने क्रममा नै नर्सिङ प्रतिनिधिहरुसँग मागको बिषयमा उपकुलपतिसहितका चारै पदाधिकारीहरुबीच छलफल भएको हो । वार्तामा आन्दोलनरत नर्सहरुको १३ जना प्रतिनिधिहरु सहभागी थिए । उपकुलपति कार्यालयमा वार्ता भइरहदा बाहिर भने नर्सहरुले धर्ना दिइरहेका थिए ।

वार्ड, आइसियु, डाइलाइसिसलगायत ठाउँमा उपचाररत विरामीहरु कोरोना संक्रमित पुष्टि भएपछि उपचारमा संलग्नहरुलाई क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, बढेको तलब तत्काल दिइनुपर्ने, मास्क र पञ्जा पर्याप्त दिइनुपर्ने, कोरोना विमा गरिनुपर्नेलगायत माग राखेर नर्सहरुसँगै हेल्पर, हेल्थ एडहरु आन्दोलनमा थिए । उनीहरुल विभिन्न १६ बुँदे माग अघि सारेका छन् ।