विराटनगरः विराटनगरको गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेर एक दम्पती बन्धक बनेका छन् ।
गत साउन ६ गते अस्पताल भर्ना भएर झण्डै एक सातामा निको भएका उनीहरुको अस्पताल खर्च ५५ हजार भएको थियो । तर, हाल बढेर झण्डै डेढ लाख पुुगेको सप्तरीको माहुलीका पीडित शिवचन्द सदाले बताए । अग्निसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ का भुमीहिन सदा परिवार ऐलानी जग्गामा फुसको छाप्रो हालेर बसेका छन् ।
छिमेकी दिननाथ साह दम्पतीले मरणसन्न हुने गरि कुटपिट गरेपछि उनीहरुलाई थप उपचारका लागि विराटनगर ल्याइएको थियो । पहिले कुटपिट गर्ने साहलै नै पैसा तिर्ने सहमती भएपनि अहिले साहले पैसा नतिर्ने अडान लिएपछि उनको अस्पतालमै बसाइ हुन पुगेको अधिकारकर्मी भोली पासवानले जानकारी दिए । कन्चनपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेश कुमार सिंहले पीडितलाई उद्दार गर्ने काम भइरहेको जानकारी दिए । उनले पीडक साहलाई थुनामा राखिए पनि जिल्ला वकिल कार्यालयबाट थुनामुक्त गर्ने आदेश भएको जानकारी दिए ।
यता अस्पताल प्रशासनले पनि बिरामी बन्धक भएको स्वीकारेको छ ।अस्पतालका संचालक सनातन मण्डलले नीति अस्पतालमा आएपछि पैसा नलिए कसरी अस्पताल चलाउने ? भन्दै प्रश्न गरे । उनले बिरामी पैसा दिन्छु भनेरै कुरिरहेको बताए । डिएसपी सिंहले बिल पठाउनु भनेकाले चाँडै बिरामीलाई बिदा दिने वातावरण मिल्ने उनको भनाई छ । पैसा नभए सरकारी अस्पतालमा गए भइ हाल्थ्यो नि भन्दै उनले प्रतिक्रिया दिए ।
विराटनगरमै बिरामी बन्धक रहेको थाहा पाएका प्रदेश १ का आन्तरिम मामिला एवंम कानून मन्त्री हिक्मत कुमार कार्कीले बन्धक बिरामीलाई तत्काल रिहा गर्ने निर्देशन दिएका छन् । उनले सप्तरी जिल्ला प्रशासनका प्रमुखलाई फोन गरेर सदा परिवारमा भएको समस्याको समाधान निकाल्न टेलिफोन मार्फत निर्देशन निर्देशन दिएका हुन् । उनले न्यनुनत मानविय व्यवहार समेत नभएको भन्दै आपत्ति जनाएका छन् ।