धरान: धरानको वडा नं २० स्थित चर्चित पर्यटकीय गन्तव्य हो चिण्डे डाँडा । चिण्डे डाँडाभन्दा केही मास्तिर पर्ने टोड्केमा भ्यु टावर बनेको छ । टावर टोड्केमा बनेपनि चिण्डे डाँडा भ्यु टावरको नामले नै चिनिन्छ ।

टावर निर्माण भएपछि टोड्के पर्यटकीय गन्तव्य बनेर आन्तरिक पर्यटकहरुको चहल पहल बढेसँगै भ्युट टावरको आसपासको जग्गाको महत्व पनि बढेको छ। त्यही महत्वले अहिले चिण्डे डाँडामा स्थानीयबासीहरुलाई ऐलानी जग्गा कस्ले हत्याउने भन्ने विवाद निम्त्याएको छ, र राजनीतिक ध्रुवीकरण पनि बढाएको छ । केही दिनअघि भ्यु टावर उत्तरपट्टिको जग्गा निर्माण हुदै गरेको भौतिक संरचना नगर प्रहरीको उपस्थितिमा केही स्थानीयले भत्काइदिए पछि विवाद झन् चर्कदै गएको छ ।

टोड्केका करिब ७० बर्षीय वृद्ध विष्णुबहादुर राईको जग्गा छ । उनका बाउ, बाजेकै पालादेखि त्यहाँ बसोबास भएको स्थानीय बताउँछन् । उनको दाजुभाईको अंशवण्डा हुदा भ्यु टावर भएको जग्गा उनको भागमा परेको थियो । वृद्ध विष्णुबहादुरले नै भ्यु टावरको लागि जग्गा दिए । त्यसअघि सामुदायिक भवन बनाउन पनि उनले नै जग्गा दिएका थिए । सामुदायिक भवन, भ्यु टावर बनाउन दिएको जग्गा नम्बरी थिएन । अंशवण्डामा नम्बरीसँगै ऐलनी जग्गा पनि उनको भागमा परेको थियो ।

अहिले उनको केही ऐलनी जग्गामा वडा सदस्य कर्ण तामाङले भौतिक संरचना बनाउन शुरु गरेका थिए । तामाङले आफुले राईबाट जग्गा किनेको दाबी गर्छन् । विरामी हुँदा उपचार खर्च लिएका राईले पछि आफुलाई जग्गा नै कागज गरेर बिक्री गरेको र सोही जग्गामा टहरा बनाएको उनको दाबी छ । ‘जग्गा ऐलनी नै हो, तर विष्णुबहादुर राईले चर्चेको हो, र उहाँले कागज गरेर मलाई बिक्री गर्नुभएको छ,’उनले भने,‘शुरुमा नगर प्रहरी आएर रोक्नु भन्यो, मैले काम रोकेकै थिए । पछि फेरि आएर सबै भत्काइदिएछ ।’

केही स्थानीयबासी भने विष्णुबहादुर र उनको भाई रामबहादुरबीचको अंशवण्डाको समस्या रहेकोले अरु कसैले त्यसरी हडपेर टहरा बनाउन नमिल्ने बताउँछन् । ‘परिवारभित्रैको विवाद मिलिसकेको छैन, त्यसरी बाहिरका मानिसले घर बनाउन मिल्दैन भन्यौं,’स्थानीय केशव राई भन्छन्,‘शुरुमा रोक्यौं, पछि नगर प्रहरी आएको बेला स्थानीयले भत्काए ।’ उनका अनुसार आज पुनः विष्णुपादुका मन्दिर तिरका युवाहरु आएर जर्बजस्ती टहरा बनाउने भनिरहेका छन् ।

वडासँग समन्वय नगरी भत्काइयो: अध्यक्ष

todke

वडा नं २० का अध्यक्ष मणिराम राई भने उपमहानगरपालिका नेतृत्व र नगर प्रहरीले वडाका जनप्रतिनिधिहरुसँग समन्वय नगरी भौतिक संरचना भत्काएकोमा असन्तुष्ट छन् । आफुले यो बिषयलाई हिजो(बुधबार) कार्यपालिका बैठकमा पनि उठाएको उनले बताए । ‘वडाका जनप्रतिधिहिरुसँग समन्वय नगरी भत्काउने काम भयो । त्यो जग्गा ऐलनी पर्ति नै हो, तर विष्णुबहादुरको बाउ बाजेले चर्चेको हो, अंशवण्डा हुदा उनको भागमा परेको हो,’साविक विष्णुपादुका गाविसका पुर्वअध्यक्ष एवं हालका वडाअध्यक्ष राईले भने,‘यसरी व्यक्तिले भोगचलन गरिरहेको क्षेत्रमा वास्तविकता नबुझी, हामीसँग समन्वय नगरी क्षति पुर्याउने, स्थानीयबीच द्धन्द सृर्जना गर्ने काम भएको छ ।’

अध्यक्ष राईका अनुसार विष्णुबहादुरले वडा सदस्यसँग पहिला नै उपचारको क्रममा ऋण लिएको र पछि लेखापढी गरेर करिब १० धुर जति जग्गा दिएको देखिएकोछ । भोगचलन गरिरहेको ऐलनी जग्गाको विवाद धरानको अधिकांश वडामा भएको भन्दै उनले भने,‘व्यक्तिले चर्चेको पर्ति जग्गा यो मात्र होइन, धरानको थुप्रै वडामा छ । कि सबैतिर यसरी नै भत्काउदै, हटाउदै जाउ, होइन भने एक ठाउँमा मात्र रिसइबी साध्ने, द्धन्द बढाउने काम नगरौं ।’

स्थानीयले नै भत्काएको हो: उपमहानगरपालिका

धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा भने नगर प्रहरीले नभै अनुगमनको क्रममा गएको बेला स्थानीयबासी भेला भएर निर्माण हुदै गरेको संरचना भत्काएको बताउँछन् । पहिला पनि नगर प्रहरी गएर काम रोकेको र पछि पुनः निर्माण शुरु भएको भन्ने जानकारी आएर हेर्न जादा स्थानीय पनि भेला भएर भत्काएको उनले बताए । ‘निर्माण कार्य रोकेको थियो, फेरि बनाउन थाल्यो भन्ने जानकारी आएपछि नगर प्रहरी हेर्न गएको थियो,’उनले भने,‘त्यही बेला स्थानीय भेला भएर भत्काएछन्, नाम नै नगर प्रहरीको आयो ।’

भ्यु टावर बनेपछि लोभिए

टोड्केमा भ्यु टावर बनेपछि आसापासको जग्गाको मुल्यांकन बढ्यो । जसले गर्दा टावर आसपासको जग्गा कब्जा गर्ने दाउमा सबै लागिपरेका छन् । भ्यु टावर बनाउन जग्गा दिएका विष्णुबहादुरका छोराहरु छैनन् । उनले आफ्नो बाँकी रहेको जग्गा ३ छोरी ज्वाईलाई दिन चाहेका छन् । तर, अहिले उनको भाईका अंशियारीहरुले भने छोरीहरुलाई दिन हुदैन भन्दै विवाद दाबी गरेपछि विवाद शुरु भएको हो ।

वडा अध्यक्ष राई पनि दाजुभाईमा अंशवण्डा पहिला नै भइसकेको र ऐलनी पर्ति नै भएपनि त्यो जग्गा विष्णुबहादुरले चर्चेको बताउँछन् । ‘छोरीलाई भागवण्डा लगाइदिनुपर्यो भन्दा अहिले दिनुहुदैन भन्दै भाईको अंशियारहरुले दाबी गर्न थालेका छन् । तर दाजुभाईको पहिला नै अंश भइसकेको बुझिन्छ,’उनले भने ।

राजनीतिकरणले द्धन्द बढ्दै

सतहीमा हेर्दा विवाद अंशवण्डाको देखिए पनि राजनीतिकरणले गिजोलिएको छ । कांग्रेस र नेकपाका कार्यकर्ताहरुबीच मात्र होइन, विवाद घटनाले स्थानीयबासीहरुबीचमा नै थप फाटो ल्याएको छ, र द्धन्द उब्जाएको छ ।

उपचार खर्च ऋण दिएर पछि जग्गा नै किनेको दाबी गर्ने वडा सदस्य कण राई नेकपाबाट निवार्चित हुन् । उनले निर्माण गर्दै गरेको भौतिक संरचना रोक्न निवेदन दिएर भत्काउने कार्यमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको अग्रसरता छ । ‘अहिले यो राजनीतिक मुद्दा भयो । कांग्रेस र नेकपाबीचको द्धन्द बन्यो,’उपमहानगरका एक कर्मचारी भन्छन् ।