धरान: झापा जिल्लाको झापा गाउँपालिका ३ स्थित कामाटोलीमा बुधबार एक जनाको ज्यान जाने गरि भएको घटनामा स्थानीयबासी र प्रशासनबीच ७ बुँदे सहमति भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका स्थानीय रसिकुल आलमको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाविरुद्ध आज बिहान स्थानीयबासीहरु आन्दोलित भएका थिए । जनप्रतिनिधिहरुको पहलमा दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा ७ बुँदे सहमति जुटेको गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिए । उनले भने,‘हिजो एक जनाको ज्यान जाने गरि दुःखद् घटना भएपछि जनताले बिहान प्रर्दशन गरेका थिए, दिउँसो जिल्ला प्रशासनमा वार्ता भएर ७ बुँदे सहमति भएको छ ।’

अध्यक्ष साहका अनुसार घटनामा ज्यान गुमाएका आलम परिवारलाई क्षतिपूर्तिको लागि नेपाल सरकारसँग माग गर्ने निर्णय भएको छ । साथै, तत्काल किरिया खर्चवापत गाउँपालिकाले ५० हजार उपलब्ध गराउने पनि निर्णय भएको छ । यसैगरि, गृहमन्त्रालयको निर्णयअनुसार घटनाको छानबिन गर्न सहायक प्रजिअ संयोजक रहेको ३ सदस्यीय समिति पनि गठन भएको अध्यक्ष साहले जानकारी दिए ।

kamatoli1

घटनाको विरोधमा बिहिबार बिहान कामाटोलीमा प्रर्दशन गर्दै स्थानीय । तस्बिर स्रोत:किसोर श्रेष्ठ

उनका अनुसार समितिमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी र अनुसन्धानका एसपी रहेका छन् । ‘मृतकको बालबालिकाको शिक्षाको सम्पुर्ण जिम्मा नेपाल सरकारले लिने गरि पहल गर्ने, सौहार्दपुर्ण वातावरणमा शन्ति कायम राख्ने र मृतकको शव पोष्टमार्टम गरि बुझाउने भन्ने सहमति भयो,’साहले भने,‘घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गर्ने पनि सहमति छ ।’

हिजो(बुधबार) प्रहरीले कामटोलीमा गोरु काटेको आरोपमा २ जनालाई पक्राउ गरेपछि दिउँसो करिब २ बजेतिरबाट नै समस्या शुरु भएको थियो । प्रहरीले अब्दुल सलाम र ताजमल हकलाई पक्राउ गरेको थियो । उक्त क्षेत्र मुस्लिम समुदायको बाहुल्य क्षेत्र हो । प्रहरीले पक्राउ परेका दुवैलाई म्याद थप गर्न लैजाने तयारी गरेपछि स्थानीयले अवरोध गर्दा भिडन्त भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाउदा रसिकुल आमल घाइते भएका थिए । उनको उपचारको क्रममा बिएण्डसि हस्पिटलमा निधन भएको थियो ।