धरान: प्रहरीले धरान १३ बाट ब्राउन सुगरसहित लागुऔषधका कारोबारीलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयका अनुसार धरान १३ का २० बर्षीय विजय शेर्पालाई आज दिउँसो ३ बजे पक्राउ गरेको हो । उनको साथबाट ३ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइन(ब्राउन सुगर) पनि फेला परेको प्रहरीले जनाएको छ । ‘बिक्रीवितरण गर्नको लागि नै ल्याएको देखिन्छ । बाहिरबाट ल्याएको भन्ने छ, त्यसबारे पनि अनुसन्धान गर्दैछौं,’डिएसपी ज्ञानेन्द्र बस्नेतले भने ।

प्रहरीका अनुसार शेर्पाको कोठामा खाटमा रहेको सिरानी मुनी ब्राउन सुगर भेटिएको थियो । उनले प्लाष्टिकको बजारे झोलाभित्र ब्राउन सुगर लुकाएर राखेको अवस्थामा भेटिएको थियो । हिजो पनि प्रहरीले धरान १५ बाट एक युवालाई डाक्टरको प्रेस्क्रिप्सन विना स्टोर गरेर राखेको ३ हजार स्पास्मो प्रोक्सिभन क्याप्सुलसहित पक्राउ गरेको थियो । ती युवलाई प्रहरीले औषधी व्यवस्था विभाग विराटनगर पठाइसकेको छ ।