धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरंगको बेलबारी ५ की ५६ बर्षीया महिला र दमक ३ झापाका ८३ बर्षीय वृद्ध पुरुष छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापाका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा आएका थिए । भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए । उनको आज बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकको मृगौलाको दीर्घकालिन समस्या भएर डायलाइसिस पनि गर्नुपरेको थियो भने उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।
यस्तै, अर्का मृतक बेलबारीकी महिलालाई कोशी अंचल अस्पतालले रिफर गरेर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन् । उनको सोही दिन पिसिआर पोजेटिभ आएको थियो । उनको पनि आज बिहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।
यसअघि हिजो राती पौने ७ बजे पनि प्रदेश २ सिरहाका एक कोरोना संक्रमितको वीपीमा उपचारको क्रममा निधन भएको थियो । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा १५ जना संक्रमितको मृत्यु भइसकेको छ । ती मध्ये ३ जना धरानका छन् । अन्य मृतक प्रदेश १ का विभिन्न जिल्ला र प्रदेश २ का पनि छन् ।