धरान: मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा पुलमा शुक्रबार दिउँसो ग्याङ फाइट भएको छ ।
युवाहरुको दुई समुहबीच भएको झडपमा एक जनाको मृत्य भएको प्रहरीले जनाएको छ। झडपमा परि घाइते भएकामध्ये चन्द्रकुमार राईको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर, विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ वर्षीय समुन्द्र राई र १६ वर्षका गौरव राईको समूहबीच झडप भएको हो ।
अघिल्लो साँझ(बिहीबार) मादक पदार्थ सेवन गरेका दुई पक्षबीच विवाद भएको थियो । सोही बिषयमा आज दुवै पक्षबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । यद्यापी, बिहीबार के विषयमा विवाद भएको थियो भन्ने खुलेको छैन । एक समुहका घाइतेहरुको बेलबारीमा नै उपचार भइरहेको छ । फरार अन्यको खोजी भइरहेको छ । घटनाबारे अनुसन्धान गर्न डिएसपी राई आफै बेलबारी पुगेका छन् ।