धरान: सुनसरी जिल्लामा निषेधित क्षेत्रको समय ३ दिन थप भएको छ ।

आज जिल्ला प्रशासनमा कार्यालयमा भएको वृहत बैठकले भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको हो । ‘भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले भने । बैठकमा सुरक्षा निकायका प्रमुखहरुसँगै जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु सहभागी थिए । यस्तै, सुनसरी उद्योग वाणिज्य संघ, इटहरी र इनरुवाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरु पनि सहभागी थिए । बैठकका सहभागीहरुले निषेधित क्षेत्र खोल्ने, कसैले जारी राख्नुपर्ने धारणा राखेका थिए ।

यसअघि भदौ १४ गतेसम्म जिल्लालाई निषेधित क्षेत्रको निर्णय गरिएको थियो । भोली समय सकिन लागेपछि आज वृहत छलफल गरिएको हो । सहायक प्रजिअ पोखरेलका अनुसार निर्णय भदौ १७ गतेसम्म निषेधित क्षेत्र बढाउने निर्णय मात्र भएपनि ३ दिनभित्र निषेधित क्षेत्रको मोडालिटीबारे प्रस्ताव ल्याउन उद्योग वाणिज्य संघलाई जिम्मा दिइएको छ ।

उनका अनुसार छोटो दुरीमा चल्ने सिटी सफारीमा २ जना मात्र राख्ने र सेनिटाइजर देखिने गरि राख्नेलगायतको बिषयमा पनि अनौपचारिक छलफल भएको थियो । यसबिषयमा पनि सुरक्षा निकायलाई प्रस्ताव ल्याउन भनिएको उनले बताए । ‘बजार खोल्नुपर्छ भन्ने धारणा पनि आएको थियो, खोल्ने हो भने कसरी खोल्ने हो, मोडालिटीको प्रस्ताव ल्याउनुस् भनिएको छ,’सहायक प्रजिअ पोखरेलले भने,‘उहाँहरुको प्रस्ताव आएपछि १७ गते बैठक बसेर थप के गर्ने भन्ने निर्णय हुन्छ ।’