धरान: धरानमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका चारै जनाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा एक जना वीपीमा कार्यरत ३८ बर्षीय सेक्युरिटी गार्ड रहेका छन् । यसअघि उनको पनि श्रीमतिलाई कोरोना पोजेटिभ देखिएको जानकारी आएको मेहताले बताए ।

यस्तै, अर्का एक जना प्रतिष्ठानकै परिक्षा शाखाका ४७ बर्षीय प्रशासनिक सहायकलाई पनि संक्रमण पुष्टि भएको छ । यसैगरि, धरान १८ का ५२ बर्षीय एक व्यक्तिलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनको छोरी वीपीमा स्टाफ नर्स छ, तर छोरीलाई भने संक्रमण नदेखिएको मेहताले जानकारी दिए । छोरीको पिसिआर नेगेटिभ आएको छ ।

अर्का एक जना धरान १०, पुतलीलाइनका ३३ बर्षीय पुरुष छन् । उनलाई रुघाले नाक बन्द भएपछि प्रतिष्ठान जचाउन पुगेका थिए । उनको साथीहरु वीपीमा भएको र भेटघाट बाक्लो भएको थाह पाएपछि डाक्टरहरुले नै स्वाब जचाउन सल्लाह दिएका थिए । हालसम्म धरानमा संक्रमितहरुको कुल संख्या १४४ पुगेको पनि मेहताले जानकारी दिए ।