धरान: निमोनियाले ग्रस्त धरान ११ मा हिजो साँझ एक वृद्धको मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भए-नभएको पुष्टि गर्न आज पिसिआर परिक्षण गरिदैछ ।
केही बेरअघि जनप्रतिनिधि, स्वास्थ्य महाशाखाको टोलीले घरमा नै पुगेर स्वाब संकलन गरेका छन् । उनको केही घण्टाभित्र रिपोर्ट आउने गरि नगर प्रमुखबाट आवश्यक समन्वय भएको वडा ११ का अध्यक्ष बाबुलाल लामाले जानकारी दिए । ‘हिजो साढे ६ बजेतिर मृत्यु भएको हो, अहिले भर्खर स्वाब लिएर वीपीमा पठाएका छौं,’वडा ११ का अध्यक्ष बाबुलाल लामाले भने,‘रिपोर्ट नआएसम्म शव घरमा नै राखिन्छ ।’
अध्यक्ष लामाका अनुसार मृतकको उमेर ६० देखि ६५ बर्षका छन् । नागरिकता नभएकोले मृतकको उमेर प्रष्ट भएको छैन । उनी रक्सी खाएर डुलिरहन्थे । धरान ११ मंगलबारे चोक नजिकै भानु मार्गमा भाईको परिवारसँगै मृतक डेरामा बस्छन् । ज्वरो आएर निमोनिया भएर मृत्यु भएको पाइएकोले स्थानीयले पनि कोरोनाको आशंका गरेको कारण स्वाब परिक्षण गर्नुपरेको अध्यक्ष लामाले बताए । ‘रिपोर्ट नआएसम्म घरकालाई पनि कतै नजान भनेको छुँ, हिजो घरमा नै गएर मेडिकलवालाले पनि ब्लड तानेको रहेछ, उसलाई पनि केही नगरी बस्न भनेको छुँ,’अध्यक्ष लामाले भने,‘नेगेटिभ रिपोर्ट आवोस् भन्ने कामना गर्छु ।’