धरान: निमोनिया हिजो साँझ मृत्यु भएका धरान ११ का वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणको आशंकामा उनको आज बिहान स्वाब संकलन गरिएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ‘स्वाबको रिपोर्ट पोजेटिभ आएछ,’वडाअध्यक्ष बाबुलाल लामाले भने,‘धेरै समस्या भयो ।’
मृतक धरान ११ मंगलबारे चोकदेखि नजिकै भानु मार्गमा डेरामा बस्ने गर्थे । उनलाई ज्वरो र निमोनिया भएको थियो । हिजो साँझ करिब साढे ६ बजे उनको मृत्यु भएको थियो । मृत्यु हुनुअघि एक मेडिकल सञ्चालकले घरमा नै पुगेर ब्लड लिएको पनि पाइएको अध्यक्ष लामाले बताए । ती मेडकल सञ्चालकले आज बिहानै पसल खोलेर धेरैलाई औषधी बिक्री गरिरहेको पनि पाइएको अध्यक्ष लामाको भनाई छ ।
अध्यक्ष लामाका अनुसार वडालाई सिल गर्ने बिषयमा मेयरसँग समन्वय भइरहेकोछ । योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । यसअघि अन्य ५ जना कोरोना संक्रमण पुष्टि भएर उपचारको क्रममा मृत्यु भएको थियो भने आज मृत्यु भएका व्यक्तिको रिपोर्ट पछि पोजेटिभ आएको हो ।