धरान: धरान १० का कोरोना संक्रमण पुष्टि भएको एक व्यक्ति तीन दिनदेखि भागेर एक आफन्तको घरमा बसेको पाइएको छ ।

संक्रमित ३३ बर्षीय ती व्यक्ति नेपाली सेनाका जवान पनि हुन् । तीन दिनअघि संक्रमण पुष्टि भएका ती व्यक्तिलाई आज मात्र धरान ३ कैलाश पथस्थित एक घरमा भेटिएको छ । उनलाई प्रहरीको टोलीले पक्राउ गरेर आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेनसमा लगिएको छ । ‘इटहरीमा सेनाको जवान हो, अस्तिको दिन संक्रमण पुष्टि भएको थियो । तर घरबाट भागेर गएछ,’वडा नं १० का अध्यक्ष श्रीप्रसाद सुब्बाले भने,‘इटहरी ब्यारेकमा आज सम्पर्क भनेर खोजी गरेर आज अस्पताल लगियो ।’

अध्यक्ष सुब्बाका अनुसार दाजुले आइसोलेसनमा लैजान खोज्दा घरबाट भागेका थिए । फोन सम्पर्क हुँदा आफु अलग्गै बसेको छुँ भन्ने गरेका थिए । ‘मैले त हिजो मात्र हिजो(सोमबार) मात्र थाह पाए, त्यसपछि इटहरीमा आर्मीसँग पनि सम्पर्क गरेर खोजी गर्न थाल्यौ,’उनले भने,‘आज मात्र कैलाश पथमा भेटियो । घरकै बहिनीलाई पनि उसले सारिसकेको छ ।’

ती संक्रमित सैनिकको घर(धरान १०)मा बहिनीलाई पनि संक्रमण पुष्टि भइसकेको छ । बहिनी हाल होम आइसोलेसनमा रहेका छन् । तीन दिनदेखि आश्रय लिएर बसिरहेको घरमा उनले आफु कोरोना पोजेटिभ हो भन्ने लुकाएर बसेको वडा नं ३ का सदस्य विकास वनेपालीले बताए । ‘घरवाला आफन्त र साथी पनि रहेछ, त्यहासँगै बस्ने गरेको रहेछ । घरमा भाडामा बस्ने अन्यले उसको गलफ्रेण्डलाई पोजेटिभ देखिएको छ रे, यस्तोलाई राख्न हुदैन भन्दा वीपीमा चेक गराएको, नेगेटिभ रिपोर्ट छ भन्यो रे,’वनेपालीले भने,‘साथीभाईहरुसँग खाने, बस्ने गरेको भन्ने कुरा आयो ।’

अहिले वडा कार्यालयले ५ तले उक्त घरलाई सिल गरेको छ । त्यहाँ ५० जना भन्दा बढी मानिसहरु भाडामा बस्छन् । उनीहरु सबैको पिसिआर परिक्षण गर्नुपर्ने वडा सदस्य वनेपालीले बताए । ‘पुलिस आएर लगेपछि घरको फुतपाथलाई निषेधित क्षेत्र भनेर डोरी टागेका छौं । घरमा भएकाहरुलाई बाहिर ननिस्कन भनेका छौं,’उनले भने,‘यो त चरम लापरवाही भयो ।’ स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने होम आइसोलेसनमा बस्छु भनेको व्यक्ति ढाटेर वडा नं ३ मा गएको पाइएको बताए । ‘पोजेटिभ आएपछि होम आइसोलेसनमा बस्छु भनेपनि ढाटेर साथीकोतिर गएछ,’उनले भने,‘कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिन्छौं ।’

kailash