इटहरीः कोरोनामुक्त भएकी प्रदेश १ की सांसद कुसुम श्रेष्ठले समाजको राम्रो व्यवहारले कोरोना जित्न हिम्मत बढ्ने बताइन् ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद इटहरीमा अस्थाई रुपमा बस्छिन् । गत साउन २४ गते गरिएको स्वाब परिक्षणमा ४ दिनपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनी २४ दिन सेल्फ आइसोलेसनमा थिईन् । सोमवार दिएको स्वाबमा उनीसहित श्रीमान् नयन श्रेष्ठ कोरोनामुक्त भएको आज पुष्टि भएको छ।

लामो समय एकै ठाउँमा बस्नुुपर्दा सामान्य अल्छि लाग्ने बाहेक कुुनै समस्या नभएको उनको भनाई छ । उनले यस अवधिमा छिमेकीले असाध्य राम्रो व्यवहार गरेको भन्दै यसले थप हौसला मिलेको बताइन् । ‘कोरोना सामान्य सरुवा रोग हो भन्ने बुझेँ,उनले भनिन्, यसले ज्यान जाँदैन भन्ने थाहा पाएपछि मलाई कुनै समस्या नै भएन ।

श्रेष्ठले कोरोना सँक्रमित भएर घर बस्नुुपर्दा छिमेकीले पोषिलो खानेकुरा ल्याएर दिएको भन्दै आफुुलाई हौसला बढाउने काम भएको जानकारी दिइन् । उनले समाजले हेर्ने दृष्टिकोण सकारात्मक भए बाँच्न थप उर्जा मिल्ने बताइन् । उच्च रक्तचापको औषधी नियमति खाइरहे पनि यो बीचको अवधिमा स्वास्थ्यमा कुनै समस्या नभएको उनको भनाई छ ।

कोरोना जितेपछि सांसद श्रेष्ठले इटहरीकी उपमेयरलाई धन्यवाद दिएको बताइन् । उपमेयर लक्ष्मी गौतमले सँक्रमितको घरघर पुुगेर सँक्रमितलाई भेटेकी थिइन् । त्यस्तै श्रेष्ठले वडाअध्यक्ष, टोलविकास समितिका अध्यक्ष र छिमेकीलाई सँक्रमित अवधिभर एकदमै राम्रो व्यवहार गरेर हौसला बढाएको भन्दै धन्यवाद दिएकी छिन् ।