सुनसरी: इटहरी १३ खनारस्थित सिल गरिएको एक उद्योगका ४२ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै इटहरीमा मात्र आज अहिलेसम्मै उच्च ५८ जना कोरोना संक्रमित देखिएको छ । सुनसरीमा आज कुल ६७ जना कोरोना पोजेटिभ थपिएका छन् । ती मध्ये ७ जना महिला र ६० जना पुरुष छन् । धरानका ७, भोक्राहाका १ र इटहरीका १ जना संक्रमित छन् । सुनसरीमा कुल संक्रमित संख्या ८३० पुगेको छ । ती मध्ये ३८५ निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
इटहरीका कुल ५८ संक्रमित मध्ये ४२ जना इटहरी १३ खनारस्थित प्रगति टेक्स्टायल उद्योगका कर्मचारीहरु भएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीले जानकारी दिए । उद्योगमा २ जनाको नमुना लिएर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि १३० जनाको स्वाब लिएर परिक्षण गरिएको उनले बताए । त्यसयता उद्योग सिल गरिएको छ ।
तीमध्ये ४२ जनाको रिपोर्ट पोेजटिभ आएको हो । उद्योगका कर्मचारीहरुको घर कोहीको मोरंग छ भने कोही इटहरी, सुन्दरदुलारीलगायतमा छ । ‘चार सय मजदुर छन्, अझै अरुको पनि स्वाब परिक्षण गर्न बाँकी छ,’चौधरीले भने,‘उद्योगहरुले सावधानी अपनाउने, पिसिआर टेष्ट गर्ने गर्नुपर्छ ।’ संक्रमण देखिएकाहरुलाई कहाँ आाइसोलेसनमा पठाउने भनेर छलफल गरिने उनले बताए ।
इटहरीमा मात्र संक्रमितहरुको संख्या २१४ पुगेको छ । चौधरीका अनुसार सर्वसाधारणहरुले अझै पनि गम्भीरतापुर्वक नलिएको कारण संक्रमण समुदायमा फैलदै गएको हो । मास्क राम्रोसँगले नलगाउने, हात नधुने, सेनिटाइजर नलगाउने, भिडभाडमा जाने जस्ता लापरवाहीले सक्रमण बढ्दै गएको उनको भनाई छ ।