धरान: धरान उपमहानगरपालिकाले साउन २२ गतेदेखि निरन्तर लकडाउन गरिरहेको थियो । पछिल्लो पटक थप भएको लकडाउनको अवधि आज (बुधबार) मध्यराती १२ बजेसम्म छ ।
लकडाउन थप हुन्छ कि हुदैन ? धरानबासीहरुमा यो प्रश्न उब्जिरहेको थियो । लकडाउनबारे निर्णय गर्न उपमहानगरको कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ । तर, आज बैठक बसेन । जिल्ला प्रशासनले पनि आज मध्यरातीसम्म सुनसरी जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसैले धरानको कार्यपालिका बैठक नबसे पनि जिल्लामा डिसिसिएमसि बैठक बसेर केही समयको लागि निषेधित क्षेत्रलाई खुकुलो बनाउने निर्णय गर्यो ।
धरानको कार्यपालिका बैठक बसेर लकडाउनबारे निर्णय नगर्नुको कारण छ, त्यो हो डिसिसिएमसिकै निर्णयलाई कार्यान्वयन गर्ने सहमति । वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडा भन्छन्,‘कार्यपालिका बैठक बसेन । जिल्ला प्रशासनको निर्णयलाई मान्ने भन्ने मौखिक सहमति भएर हो ।’
लकडाउनको अधिकार सिडिओलाई मात्र छ:सहायक सिडिओ
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार लकडाउन गर्ने अधिकार स्थानीय तहलाई छैन । त्यसैले लकडाउन गर्ने स्थानीय तहहरुलाई यसअघि नै ध्यानाकर्षण गराइएको उनले बताए । स्थानीय तहहरुले आफुखुशी लकडाउन गर्दा समस्या पनि भएको थियो ।
सोही अनुसार आज डिसिसिएमसि बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा एकरुपता हुने गरि निषेधित क्षेत्रको खुकुलो बनाउने निर्णय गरिएको सहायक प्रजिअ पोख्रेलले बताए । ‘स्थानीय तहहरुले आफुखुशी लकडाउन गरेपछि मन्त्रालयले कसरी गर्यो भनेर सोध्यो । मन्त्रीपरिषदले डिसिसिएमसिको सिफारिशमा सिडिओले मात्र लकडाउनको निर्णय गर्ने भन्ने छ,’उनले भने,‘हामीले पनि स्थानीय तहहरुको ध्यानाकर्षण गरायौं । आजको निर्णयले अब जिल्लाभर निषेधित क्षेत्रबारे एकरुपता ल्याउनेछ । अब सबैतिर १० बजेसम्म पसल खुल्न पाउछ ।’
राती ९ देखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा पनि हिड्न नपाउने
सहायक प्रजिअ पोख्रेलका अनुसार बिहान १० बजेसम्म पसलहरु खुला हुनेछ । त्यसपछि भने निषेधित क्षेत्रको निर्णय लागु हुनेछ । बिहान १० बजेदेखि राती ९ बजेसम्म अत्यावश्यक काममा बाहेक हिडडुल गर्न नपाइने उनले बताए । राती ९ बजेपछि बिहान ५ बजेसम्म अत्यावश्यक काममा पनि हिडडुल गर्न नपाइने उनले बताए । ‘राती ९ देखि ५ बजेसम्म अत्यावश्यक काममा पनि हिड्न नपाउने हो,’उनले भने ।
टेम्पो र सिटी बिहान १० बजेसम्म मात्र
सहायक प्रजिअ पोख्रेलका अनुसार बिहान १० बजेसम्म मात्र टेम्पो र सिटी सफारी चल्न पाउछ । यातायात मापदण्ड पालना गरि २ जना मात्र यात्रु राखेर चल्न पाउने पनि उनले बताए । यस्तै, होटल तथा रेष्टुरेष्टहरुले भने दिनभर होम प्याकेजिङ गरेर लैजान वा होम डेलिभरी गर्न पाउने छ । ‘होटल, रेष्टुरेष्टहरुले अनलाइन अर्डर को होम डेलिभरी तथा ग्राहक आफै आएर प्याकिङ गरि लैजाने टेक अवे विधिमा दिनभर खोल्न पाउनेछ,’उनले भने ।