इटहरी: इटहरी रंगशालामा निर्माण हुने सय बेडको आइसोलेसनको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग आवश्यक जनशक्ति माग गरिने भएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा रंगशालामा वसेको कोभिड रोगथाम, तथा नियन्त्रण तथा ब्यवस्थापन नगरस्तरीय समिति इटहरीको वैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले वाइफाईको लागि नेपाल टेलिकमसँग माग गर्ने पनि निर्णय गरेको छ । प्रदेश सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यमा बसेको बैठकले सात दिन भित्र सय वेडको आइसोलेसन निर्माण सम्पन्न गर्ने पनि निर्णय गरेको छ । उक्त आइसोलेसनमा लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई राखिनेछ ।

सांसद साँवाले आइसोलेसन निर्माणको लागि प्रदेश सरकारले २० लाख उपलब्ध गराएको पनि जानकारी दिए । उनले आवश्यक पर्ने अन्य सहयोगका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने प्रतिवद्धता पनि जनाए । नगर प्रमुख चौधरीले निर्माण कार्य तीव्र ढंगले अघि वढाउन निर्देशन दिए । उपमेयर लक्ष्मी गौतमले महिलाका लागि छुटटै र सुरक्षित ब्यवस्था गरिनुपर्नेमा जोडदिइन् ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले आइसोलेसनमा निर्माणका लागि विभिन्न कार्यालय र सस्थासँग आवश्यक पहल भइरहेको साथै तिव्रताका साथ काम भइरहेको बताए । वैठकमा ब्यवस्थापन उपसमितिका सदस्य सचिव महेश सुवेदीले अहिलेसम्म भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । विद्युत, खानेपानी र शौचालयका लागि तिव्र ढंगले काम अघि वढेको उनले बताए । उनका अनुसार हाल जमिन सम्याउने काम भइरहेको छ भने वाइफाई र सिसी क्यामेरा जडानका लागि प्रक्रिया अघि वढेको छ । १२ वटा शौचालय र २ वटा वाथ रुम निर्माण गरिने भएको छ ।