धरान: धरानमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डकी २४ बर्षीया नर्स र उनको परिवारका सदस्य छन् । धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती नर्ससँगै उनको २८ बर्षीय श्रीमान् र ६० बर्षीय सासुमा पनि संक्रमण पुष्टि भएको छ ।

यसअघि, बिहान ती नर्सका ४ महिनाको छोरामा संक्रमण देखिएको भनिए पनि छोरी भएको मेहताले जानकारी दिए । ‘नाम छोरा मान्छेको जस्तै भएर छोरा भनिएको थियो, तर छोरी रहेछ,’उनले भने,'आज नर्सको एकै परिवारका ४ जनामा संक्रमण देखियो ।' योसँगै आज धरानमा एकै दिन ६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बिहान नर्सको ४ महिनाकी छोरीसहित ३ जनामा संक्रमण पुष्टि भएको थियो । धरानमा कोरोना संक्रमण पुष्टि भएको कुल संख्या २०३ पुगेको छ ।