धरान: तीन दिनअघि झापाको शिवसताक्षी नगरपालिका ११ का २९ बर्षीय गोमन सिंह मगरको हत्यामा संलग्न अभियुक्त पक्राउ परेको छ ।
प्रहरीले घटना भएको जानकारी पाएको २ दिनमा नै अभियुक्त शिवसताक्षी नगरपालिका ८ का ३२ बर्षीय मनकुमार लिम्बुलाई पक्राउ गरेको छ । पक्राउ परेका लिम्बुलाई आज प्रहरीले सार्वजनिकसमेत गरेको छ । हत्याको मुख्य कारण दुवैबीच भएको आर्थिक लेनदेनको कारोबार देखिएको प्रहरीको भनाई छ । उनीहरुबीचको कारोबारमा असझदारी भएर मनमुटाव बढेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
यद्यपी, घटनाबारे अझै थप अनुसन्धान भइरहेको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनकुमारलाई भोली आइतबार जिल्ला अदालतमा म्याद थप अनुमति लिने तयारी गरिएको छ । उनलाई मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ वमोजिम कर्तव्य ज्यान मुद्दामा सजाय हुने पनि प्रहरीले जनाएको छ ।
यसरी भयो हत्या
भदौ १७ गते बिहान करिब १० बजे सताक्षी धाम जाने भित्री सडकखण्डको किनारमा घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो । घटनाबारे जानकारी भएलगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुहको टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानमा खटिएको थियो भने संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाइन टोलीसमेत घटनास्थल पुगेको थियो ।
प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ, अनुसन्धान गर्ने क्रममा मनकुमारले हत्या गरेको खुलेको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ १६ गते साँझ करिब साढे ६ बजे मृतक घरबाट साथीलाई भेट्न गएको र सम्पर्कविहिन भएका थिए । सुक्ष्मढंगले अनुसन्धान गर्दा मनकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले मृतकलाई भेट्न बोलाएको खुलेको थियो । दुवै भेट भएपछि गोमनले चलाएके मोटरसाइकलको पछाडि बसेर बेलुकाको हावा खाई फ्रेस हुन सताक्षी धामतिर लागेका थिए । त्यसत्रेला मोटरसाइकल विस्तारै चलाउन लगाएर मनकुमारले लुकाएर बोकेको धारिलो हतियार कर्दले गोमनसिंहको घाटी रेटेको प्रहरीले जनाएको छ ।
मृतक मोटरसाइकलसहित सडकमा लडेपछि कसैले नदेखोस् भनेर सडकदेखि पुर्वपट्टी जंगलमा लगेर मनकुमारले लडाएका थिए । साथै, मृतकलाई उनले घाटीमा पटक पटक कर्दले प्रहार गरेर मारेपछि सडकको नालीमा फालेको अनुसन्धानबाट खुलेको छ । मनकुमारले गोमनसिंहको आइफोन, हत्यामा प्रयोग भएको कर्द र आफ्नो मोवाइलसमेत झिलझिले खोलामा फोलेको वयान दिएका छन् । सो स्थानमा जनप्रतिनिधि र स्थानीयसमेत सहयोग लिएर खोथी गर्दा ती सामाग्रीहरु हिजो वरामद गरिएको प्रहरीले जनाएको छ ।