धरान: इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नियन्त्रणमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ४ जना धरानका हुन् भने एक जना इटहरी र अर्का व्यक्ति खोटांगका हुन् । धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थुनामा रहेका धरान १३ का २० बर्षीय र धरान १५ का २९, १९, २३ बर्षका युवाहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, एक जना इटहरीका ३० बर्षीय थुनुवामा पनि संक्रमण पुष्टि भएको छ ।
अर्का २६ बर्षीय व्यक्ति खोटाङका हुन् । उनलाई भने प्रहरीले सोधपुछको लागि ल्याएर राखेको हो । उनलाई पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिए । यसअघि पनि इलाका प्रहरी कार्यालयमा एक जना थुनुवामा संक्रमण पुष्टि भएको थियो । हिजो साँझ पनि धरानमा एकै पटक ६४ जनामा संक्रमण पुष्टि भएको थियो । ती मध्ये २ जना प्रहरी थिए भने ६२ जना फुस्रे आर्मी क्याम्पका सेना, प्रहरी रहेका छन् । योसहित धरानमा कुल संक्रमित संख्या २७५ पुगेको छ ।