सुनसरी: एउटै वस्तीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि इनरुवा नगरपालिकाको ५ नम्बर वडामा आवतजावत कडाई गरिएको छ ।
वडा कार्यालयले ५ नम्बर वडालाई पुर्णरुपमा लकडाउन घोषणा गरेको छ भने औपचारिकरुपमा निर्णय गर्न डिसिसिएमसिको बैठक बस्दैछ । तर, वडा क्षेत्रमा प्रहरी परिचालन गरेर आवातजावतलाई निषेध गरिएको छ । वडा नं ५ बलाहा क्षेत्रमा मात्र कुल ६१ जना संक्रमित पुष्टि भइसकेका छन् । ती मध्ये ३८ जनामा हिजो साँझ संक्रमण देखिएको हो ।
इनरुवाका नगर प्रमुख राजन मेहताका अनुसार वडा कार्यालयले लकडाउन गरेको पुष्टि गरे । तर, औपचारिकरुपमा डिसिसिएमसि बैठकले निर्णय गर्ने उनले बताए । ‘बलाह क्षेत्रमा धेरै संख्यामा संक्रमण देखियो, त्यसैले वडाले पुर्णलकडाउन गरिसकेको छ । निर्णयको अधिकार सिडिओलाई भएकोले डिसिसिएमसि बैठक बस्छ,’प्रमुख मेहताले भने ।