धरान: इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिन अघि मात्र उनलाई चितवन जिल्लाबाट धरान ल्याइएको जानकारी प्रहरी कार्यालयले दिएको छ । धरान ल्याएपछि पिसिआर जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘घर चै दैलेख जिल्ला रहेछ, धरान ल्याएर पिसिआर गर्न स्वाब दिदा आज रिपोर्ट पोजेटिभ आएको हो,’मेहताले भने ।
उनको खास घर दैलेख भएपनि चितवनमा बस्दै आएका थिए । उनी नेत्र बिक्रम चन्द्र विप्लवका कार्यकर्ता भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दा छ । ‘भदौ १९ गते यहाँ ल्याएको हो, हातहतियार तथा खरखजना मुद्दामा ल्याएको हो,’उनले भने ।