धरान: सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा भारतीयको कुटाईबाट ३५ बर्षीय नेपाली नागरिक रामदेव यादवको मृत्यु भएको छ ।

नेपाली भुमिमा लगाएको धानबालीमा भारतीयहरुले भैसी चराइरहदा धपाउन जाँदा रामदेवलाई कुटपिट गरेका थिए । प्रहरीका अनुसार भारत बिहारको मधुबनी जिल्लाको करियौत गामपञ्चायत ८ का १९ बर्षीय प्रदिप चौधरी, २० बर्षीय देवगोरा यादव र १८ बर्षीय सरोज यादवले रामदेवको धानबालीमा भैसी चराएका थिए । रामदेवले भैसी धपाउन जादा तीनै जना भारतीय मिलेर बाँसको लाठीले कुटपिट गरेका थिए ।

भदौ ६ गते दिउँसो साढे ३ बजे भएको उक्त घटनामा २ जना घाइते भएका थिए । घाइते मध्येका रामदेवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा भदौ २१ गते मृत्यु भएको थियो । मृतक रामदेवलाई कुटपिट गर्ने भारतीय प्रदिप यादवलाई प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।