धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी गाउँपालिका ३ स्थित पुर्वपश्चिम राजमार्ग सडकखण्डको नहरचोकबाट एक व्यक्ति ठुलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ का ३९ बर्षीय मोहम्मद हुसेन मन्सुरी रहेका छन् । उनलाई हिजो सोमबार दिउँसो ३ बजे नहरचोक क्षेत्रमा तारको जालिवाला झोला बोकेर पश्चिमबाट पुर्वतर्फ हिडिरहेको अवस्थामा प्रहरीको बिशेषे टोलीले शंका लागेर खानतलासी गरेको थियो । उनको साथबाट डाइलक्स डिसि १०० एम.एल.को ५० बोतल वरामद भएको छ भने स्पास्मो प्रोक्सिभन १२ पत्ता २८८ क्याप्सुल वरामद भएको छ । यस्तै, नाइट्राभेट १० पनि २५ पत्ता ५ सय ट्याब्लेट भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार डाइलक्स डिसि प्रतिबोतल ७ सय रुपैयाले बिक्री हुन्छ भने स्पास्मो प्रोक्सिभन प्रतिपत्ता ४ सय र नाइट्राभेट प्रतिपत्ता ५ सय रुपैयामा बिक्री हुने गरेको छ । लागुऔषधसहित पक्राउ परेका अन्सारीलाई जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।