धरान: विजयपुर एफएम ९८.८ मेघाहर्ज धरानले आफ्नो १२ औं वार्षिकत्सवको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सामाजिक दुरी कायम गर्दै एफएमले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । रगत अभाव भएकोले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गरिएको एफएमकी अध्यक्ष तथा प्रबन्ध निर्देशक हिमाल राईले बताईन् । धरान १० स्थित रहेको यलम्बर भवनको सभाहलमा रक्तदाताहरुले स्वःस्फुर्तका साथ सहभागिता जनाई रक्तदान गरेका थिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको छ । रेडक्रसले रगत अभाव भएको भन्दै विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई रक्तदान गर्न आह्वान गरेको छ । यद्यपी, कोभिड १९ को महामारीका कारण स्वःस्फुर्त रुपमा रक्तदान कार्यक्रम हुन सकेको छैन ।
कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा रक्तदान आयोजना गर्न सामाजिक दुरी, प्राविधिकहरुलाई सुरक्षित सामाग्रीसहित पूर्व तयारी गरी रक्तदान गरिएको थियो । भोलि भदौं २६ गते विजयपुर एफएमको रेडियो लाईभ मार्फत राष्ट्रिय तथा स्थानीय कलाकारले सांगितिक प्रस्तुति दिने छन् ।