इटहरीः सामान्य अवस्था हुँदो हो त यति बेला इटहरीमा जितियाको उल्लास हुन्थ्यो । विभिन्न थारु बाहुल्य क्षेत्रमा रहेका ग्रामथान र जितिया मन्दिर झकिझकाउ हुन्थे भने मेलाले यो पर्वको रौनकै बढाइदिन्थ्यो ।
तर, गत सालको चैतदेखि सरकारले आधिकारीक रुपममै लकडाउन घोषण गरेदेखि भने अवस्था आसामान्य बन्न पुुग्यो । विश्व नै कोरोना त्रासले चपेटामा परेका बेला नेपालको आर्थिक, सामाजिक र सांकृतीक पक्षमा समेत प्रभाव पर्यो । तराइ समुदायका विवाहित थारु महिलाहरुले आफ्नो सन्तान, श्रीमान र परिवारको भलो चिताउँदै उल्लासमय रुपमा मनाउने जितियालाई समेत कोरोनाले प्रभाव पार्यो ।
ठुलो भिडभाडमा जान सरकारले बन्देज लगाएको हुँदा विवाहित थारु महिलाहरु सा कतै सानो जमघटमा रमाइरहेका भेटिए त कहिँ घरमै जितिया मनाइरहेका भेटिए । इटहरीकी शारदा सदा केहि साथीहरुसँग इटहरी ७ को जितमान मन्दिर पुुगेकी थिइन् । टोलको महत्वपुुर्ण जितिया मन्दिरमा भेला भएका केहि महिला दिदिबहिनीहरुले एक छिन पुुजापाठ गरेर रमाइलो गरि घर फर्केका थिए । सदाले अरु बेलाको जस्तो घण्टौँ रमाइलो गर्न नपाएपनि जल चलाएर विधिपूर्वक पुजाअराधना गरेको बताइन् । उनीसँगै रहेकीपार्वती भण्डारीले भने जितियामा अरु बेलाको जस्तौ हर्षउल्लाघ नभइ सुनासान भएको बताइन् । उनले कोरोना सर्ने डर मनमा भइभइ मन्दिर आएको बताइन् । केहि समय बसेर घर जाने र जितियाको समापनका लागि तयारी गर्ने जानकारी दिइन् ।
त्यस्तै इटहरी ७ कै पुन्डी चौधरी मन्दिरमा भेटिका मध्ये पाका महिला थिइन् । उनले परम्मपरागत रुपमा चेलीबेली भेला भइ मनाइने महत्वपुर्ण पर्व भएर पनि यो पटक खासै भेटघाट हुन नपाइको बताइन् । उनले त्रासमय अवस्थामा सामान्य ढंगले जितिया मनाइउको जानकारी दिइन् ।
के हो जितिया, कसरी मनाइन्छ ?
ब्रतालुले थुकपनि निल्न नहुने मान्यता र विश्वास रहेकोले जितियालाई कठिन पर्व मानिन्छ । जितिया ब्रत गर्ने महिलाहरु पानीसमेत नखाएर तीनदिन निराहार बस्नुपर्दछ । छोराछोरीका साथै परिवारका सदस्यहरुको दीर्घायु, स्वास्थ्यलाभ, सुखशान्तिको कामना गरी मनाइने जितिया पर्व बुधबारदेखि विधिवत सुरु भएको छ।
जितिया पर्वको रौनक भने केही दिनअघिबाटै तराई–मधेशमा सुरु भइसकेको हुन्छ। जितिया पर्वको अवसरमा एक अर्कालाई शुभकामना दिन विभित्र संघसंस्थाहरुले सांस्कृतिक कार्यक्रममार्फत नाचगान गरेर रमाउने गर्दछन्। तर, यस वर्ष भने कोरोना महामारी र ‘लकडाउन’ का कारण शुभकामना अदानप्रदान र महिलाहरुको नाचगान नहुँदा केही खल्लो देखिएको छ, जितिया।
विवाहिता महिलाहरुले बुधबार बिहानै जलाशय पुगेर पूजाअर्चना गर्दै ब्रत सुरु गरेका छन्। हरेकखाले विपद तथा दुःख कष्टबाट जोगिन र परिवार एवं सन्तानको रक्षार्थ महिलाहरू जितिया मनाउने गर्दछन्। घटस्थापना भन्दा करिब डेढ साताअघि असोज कृष्ण अष्टमीदेखि तीन दिनसम्म जितिया मनाउने गरिन्छ ।
यस पर्वमा सन्तान तथा पतिको सुख, समृद्धिका लागि स्याल, बाज र मृत श्रेष्ठजनको पूजा गर्ने परम्परा रहेको छ। यस पर्वको पहिलो दिन ब्रतालु ‘नहाय खाय’ अर्थात नुहाई धुवाई गरेर शुद्ध भई खाने गर्दछन्। नहाय खाय ब्रतका दिन ब्रतालु महिलाहरु नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहनलाई चढाउने गर्दछन्। यस पर्वमा ब्रतालु महिलाहरुले ‘नहाय खायको’ दिन ब्रतालु महिलाहरुले माछा र कोदोको रोटी खाने परम्परा रहेको छ।
पर्वको दोस्रोदिन देखि ब्रतालुहरु २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन्। ब्रत बसेका महिलाहरु एकै स्थानमा जम्मा भई भगवान जितवाहनको कथा सुन्ने परम्परा समेत रहेको छ। जितिया ब्रत बसेका महिलाहरुले थुकसमेत निल्न नहुने मान्यता रहेको छ। ब्रतालु महिलाले थुक निले ब्रत नै टुंगिने बताउँछिन धर्मशीला कर्ण। बुधबार राति खाना खाइसकेपछि ब्रतालु महिलाहरुले विहीबार दिन र रातभर पानीसमेत नखाएर निराहार बस्नुपर्ने उनको भनाइ छ । पर्वको अन्तिम दिन शुक्रबार ब्रतालु महिलाहरु पुनः नदी, पोखरी र जलासयमा स्नान गरेर चिउरा, दही तथा सखरको प्रसाद बनाएर अर्घ दिइसकेपछि जितिया ब्रत समाप्त हुनेछ।